भवनको जग खन्ने क्रममा १९ तोला सुन भेटियो

अछाम । साँफेबगर नगरपालिका-२ जाल्पादेवी श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुन र चाँदी भेटिएको छ।

चार कोठे भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल अर्थात् २ सय ३१ दशमलब ६७ ग्राम सुन र १ सय ३२ तोला ७३ लाल अर्थात् १५ सय ४८ ग्राम चाँदी फेला पारेको प्रहरीले जनाएको छ।

Advertisement

फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। मजदुरहरु बीच भागबण्डामा विवाद भएपछि कुरा बाहिर आएको वडा नम्बर २ का अध्यक्ष कालुसिंह कुँवरले बताए।

उनले भने, करिब एक हप्ता अगाडी नै फेला परेको सुन चाँदी हो, तर मजदुरबीच कुरा नमिल्दा हिजो मात्र बाहिर आएपछि थाहा भयो। अहिले प्रहरीको निगरानीमा खन्ने काम भइरहेको छ।सो ठाउँबाट पुराना भगवानका मूर्ति समेत फेला परेका छन्।

पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हो, उनले भने।फेला परेको सुन सुनचाँदी व्यवसायीसँग जाँच गरेपछि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ६ जनालाई हिरासतमा राखेर सोधपुछ चलिरहेको छ।

विस १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ। बिस १४०९मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई नष्ट पार्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयले बताए।पछि गएर स्थानीयले श्रीकोट भन्न थालेको जानकारहरु बताउँछन्। अन्नपूर्ण पोस्ट दैनिकबाट

More News last news
Loading...