काठमाडौं । नेपाल प्रेस युनियन, युरोप तदर्थ समितिको संयोजकको जिम्मेवारी पत्रकार सञ्जयभक्त कँडेलले पाएका छन् ।
प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रस्तावमा महासचिब अजयबाबु शिवाकोटीले युरोप संयोजकको जिम्मेवारीको पत्र दिएका हुन् । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशिल कँडेल केही साताअघि सम्पन्न बेलायत शाखाको प्रथम अधिवेशन सफल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । प्रेस युनियन बेलायतको संस्थापक सहसंयोजक भइसकेका कँडेललाई जिम्मेवारी दिएसँगै उनलाई युरोपका सबै देशहरुमा संगठन विस्तार गरी यथाशक्य अधिवेशन गर्न भनिएको छ ।
दर्पणसंसार डटकमका प्रधान सम्पादक तथा पत्रकार महासंघ बेलायको महासचिब रहेका कँडेल विगत लामो समयदेखि प्रवासमा रहेर पत्रकारिता गर्दै आइरहेका छन् । नेपाल समाचारपत्रको बेलायत प्रतिनिधि समेत रहेका उनी बेलायतस्थित नेपाली दुताबासले मनाउन गइरहेको ‘भिजिट नेपाल–२०२०’ समारोहको प्रचार प्रसार विभागका सहसंयोजक समेत छन् । कँडेलले युरोपका अन्य देशका पत्रकारहरूलाई समेत समेटेर तत्काल तदर्थ समितिको घोषणा गर्ने बताए ।
श्रमजीवि पत्रकारहरुको हक हित, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको संरक्षण र प्रवद्र्धन साथै विधिको शासन स्थापनामा कटिबद्ध प्रेस युनियन नेपालमा अन्तराष्ट्रिय पत्रकार महासंघको पहिलो सदस्य संस्था हो । देश तथा विदेशमा गरी युनियनमा १० हजार बढी पत्रकारहरु आवद्ध छन् । केन्द्रीय महाधिवेशनको तयारीमा रहेको युनियनको २८ बर्षे इतिहासमा आफूहरु पहिलो पटक विदेश शाखाहरु विस्तारको क्रममा रहेको महासचिब अजयबाबु शिवाकोटीले जानकारी दिए ।
युनियनको युएई र बेलायतमा अधिवेशन सम्पन्न भइसकेको र क्रमश अन्य देशमा संगठनको विस्तारको क्रममा रहेको समेत शिवाकोटीले बताए । ‘युनियनले उठाएका मुद्दालाई विश्वभरबाट समर्थन र ऐक्यबद्धता जुटाउन प्रवासमा शाखा विस्तारमा जुटेका छौं,’ उनले भने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
