नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल

काठमाडौँ । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ ।

इसाको छैटौं÷सातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ गतेका दिन बिहानीपख फुल्नु र साँझपख ओइलाएर जानु आफैँमा एउटा आश्चर्य र कौतुहलको विषय बनेको छ । दलितमध्ये अति पिछडिएको दुसाद जातिको कुलदेवता तथा अन्तर्राष्ट्रियस्तरमा पूजनीय रहेको वीरगाथाका वीर पुरुष सलहेशको जीवन गाथासँग जोडिएको त्यो फूल फुल्ने रूख के को हो ।

Advertisement

कसरी यतिका दिनसम्म बाँचिरहेको छ। यस्ता प्रश्न वनस्पतिविद्का लागि अध्ययन र अनुसन्धानको विषय बनेको छ ।

प्रदेश नं २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको लहानबजारदेखि पश्चिम र मत्स्यपालन केन्द्रदेखि दक्षिणमा रहेको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक सलहेश फूलबारीमा प्रत्येक वर्षको पहिलो दिन त्यो दुर्लभ फूल फुल्ने गर्दछन् ।

हारम जातका विशाल रूखमा एक्कासि फूल फुल्नु र वैशाख १ गते साँझपख स्वतः मौलाएर जाने घटना सबैका लागि अविश्वसनीय र कौतूहलको विषय बनेको छ । सलहेश को थिए रु सलहेशको जीवन गाथासँग फूलको के सम्बन्ध रहेको छ । यो जान्नलाई पौराणिककालमा फर्किनुपर्ने आवश्यकता रहेको छ ।

लोकगाथाका नायक वीर सलहेशको विवाह सीमावर्ती भारतको मधुवनी जिल्लाअन्तर्गत बरुवार भन्ने बलाठपुर निवासी बलाठकी छोरी सामैरसँग भएको थियो ।

आफ्ना पति सलहेशलाई पकडियागढका तत्कालीन राजा कुलेश्वरकी छोरी चन्द्रवतीले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि सलहेशलाई थुनामा राखेको खबर प्राप्त भएपछि सामैर पकडियागढ गई त्यहाँ आफ्ना सहपाठी दीना मालिनीको सहयोगमा सलहेशलाई थुनामुक्त गराएकी थिइन् ।

सलहेशलाई मनमनै हृदयदेखि मन पराएकी दिना मालिनी सलहेशसँग विवाह गर्न नपाउँदा उनले प्रण गर्दै प्रत्येक वर्ष तिम्रो प्रतीक्षामा वैशाखको पहिलो दिन हारमको त्यही रूखमा देखा पर्ने भनेपछि सोही दिनदेखि सलहेशको प्रतीक्षामा प्रत्येक वर्षको वैशाखको पहिलो दिन माला आकारमा मालिनी देखा पर्ने गरेको किंवदन्ती रहिआएको छ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

More News last news
Loading...