काठमाडौँ । नेत्रविक्रम चन्द समूहका गतिविधि माथि प्रतिवन्ध लगाएसँगै सरकार उक्त समूह प्रति कठोर बन्दै गएको छ । सरकारले फागुन २८ यता मात्रै उक्त समूहसँग आवद्ध ६४ जना नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको छ।
मंगलबार मात्रै प्रहरीले आठ जिल्लाबाट १२ जना पक्राउ गरिसकेको छ । जसमा धेरैजसो जिल्लास्तरीय नेताहरु रहेका छन् । प्रहरीले मंगलबार मात्रै चितवनबाट २ जना, अछामबाट ४ जना, नवलपरासीबाट १ जना, संखुवासभाबाट १ जना, मकवानपुरबाट १ जना, इलामबाट १ जना, सुनसरीबाट १ जना र कास्कीबाट १ जनालाई पक्राउ गरेको छ।
चन्द समूहका नेता कार्यकर्ता विरुद्ध कठोर बन्दै गएको संकेत गृह मन्त्रालयले पनि देखाइरहेको छ । गृह मन्त्रालयले पछिल्लो दश दिनमा मात्रै चन्द समूहप्रति लक्षित दुईवटा प्रेस बिज्ञप्ती जारी गरीसकेको छ, भने समूहका केन्द्रिय नेताहरु पक्राउ गर्नका लागि प्रहरीलाई कडा निर्देशन दिइरहेको छ ।
गृहले चैत १ गते अवैध वा नविकरण नगरेका हतियार ३५ दिनभित्र प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । त्यसलगत्तै चैत १० गते गृहले दोस्रो विज्ञप्ती जारी गर्दै चन्द समूहलाई प्रत्यक्ष परोक्ष सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहलाई समेत कारवाहीको दायरामा ल्याइने भन्दै सूचना जारी गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
