काठमाडौं । बोक्सी आरोपमा राजधानीमै एक महिलामाथि निर्घात रूपमा कुटपिट भएको घटना सार्वजनिक भएको छ।
आफूलाई बोक्सीको आरोपमा यातना दिएको भन्दै दोलखा स्थायी घर भई भीमसेनस्थान बस्ने रश्मी उपरकोटीले प्रहरीमा उजुरी गरेपछि राजधानीमै बोक्सी आरोपमा महिलामाथि कुटपिट भएको घटना बाहिरिएको हो।
गत बुधबार राजधानीको भीमसेनस्थानबाट प्रहरीले यातना दिने एक महिलालाई पक्राउ गरेर मुद्दासमेत चलाइसकेको छ। पक्राउ पर्नेमा मोरङ घर भई भीमसेनस्थान बस्दै आएकी कविता श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ। उनले आफूलाई माता बताउँदै झारफुक गर्दै आएकी थिइन्।
कवितालाई बुधबार भीमसेनस्थानबाट पक्राउ गरेको प्रहरीले बताएको छ। महानगरीय प्रहरी परिसरका प्रमुख वसन्त लामाले बोक्सीको आरोपमा महिलामाथि कुटपिट भएको पीडित महिलाको उजुरीका आधारमा प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको र जिल्ला अदालत काठमाडौंमार्फत मुद्दा चलाएको जनाए।
‘पीडित महिलाको उजुरीपछि प्रहरीले आरोप लगाउने तथा कुटपिट गर्ने महिलालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर मुद्दा चलाइसकेको छ। थप अनुसन्धान जारी छ,’ परिसरका प्रमुख एसएसपी लामाले भने।
पीडित महिलाले आफूलाई बोक्सी होस् भनेर कुटपिट गरेको र यातना दिएको भन्ने उजुरी दिएपछि कवितालाई बोक्सी मुद्दामा अनुसन्धान गरिरहेको परिसर काठमाडौंले जनाएको छ। पीडित महिला उपरकोटी दोलखाको तामाकोसी गाउँपालिका-४ की हुन् । उनी न्युरोड भीमसेनस्थानमा डेरामा बस्दै आएकी थिइन् ।
आइतबार बेलुका करिब नौ बजे आफ्नो तीनमहिने बच्चालाई सन्चो नभएपछि उनी घरबेटीको सहारामा माताको आश्रममा पुगेकी थिइन्। तर, आफूलाई माता बताउने कवितासहितको समूहले उल्टै रश्मीलाई नै बोक्सी भन्दै राति १ बजेसम्म कुटपिट गरेका थिए। त्यसक्रममा पीडित रश्मीले आफूलाई पन्युँ तताएर पिटेकोसमेत बताइन्। प्रहरीका अनुसार तताएको पन्युँले डामेर घाइते भएकी रश्मीलाई उपचारका लागि वीर अस्पताल पठाइएको थियो।
बोक्सी आरोपसम्बन्धी कसुर तथा सजायको कानुनी व्यवस्था सम्बन्धमा गरिएको व्यवस्थाअनुसार पीडकलाई कसुर हेरी ६ महिनादेखि पाँच वर्षसम्म जेल सजाय र ५ हजार देखि २० हजार रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ।आजको राजधानी दैनिकमा महेश गौतमले खबर लेखेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
