१७ औं आहा रारा गोल्डकपः हिमालयन शेर्पाद्वारा धरान १–० गोलअन्तरज पराजित

विजय नेपाल
पोखरा । हिमालयन शेर्पा क्लबले १७ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

पोखरा रंगशालामा शुक्रबारको प्रतियोगितामा धरान फुटबल क्लबलाई १–० को झिनो गोलअन्तरले पराजित गर्दै हिमालयन क्वाटरफाइनलमा प्रवेश गरेको हो।

Advertisement

खेलको ७७ औं मिनेटमा गोलको खडेरी तोड्दै त्रिदेव गुरुङले गरेको गोल नै निर्णायक बनेको हो। प्याट्रिक प्राइभट गोहाको लामो क्रसलाई म्यान अफ दी म्याच त्रिदेवले गोलमा परिणत गर्न सकेका हुन्। खेलमा राम्रा अवसर गुमाए सदुपयोग गर्न नसक्दा आखिर धरान पहिलो खेलबाटै बाहिरियो।

पोखरा रंगशालामा पहिलो पटक आमनेसामने भएका यी दुई टिमको खेलमा धरान दबाबमा खेलेको थियो । विपक्षी सामु आक्रामक खेल खेलेको हिमालयनका लागि सुरुवातको दोस्रो मिनेटमै डि एरियाभित्रबाट त्रिदेव गुरुङले विपक्षी डिफेण्डरलाई छक्याएर प्र्रहार गरेको बल माथिल्लो बार हुँदै आकासियो ।

दोस्रो हाफमा त्रिदेवले मिलाइदिएको क्रस बललाई विपक्षी कीपर बिनयसँगको वान भर्सेज वानको अवस्थामा डि एरियाभित्र रहेका पूर्णले गरेको हल्का भली बललाई कीपर विनयले सजिलै पञ्च गरी फर्काएका थिए।

धरानले खेलको अन्तिमतिर विश्वास श्रेष्ठको क्रसबलमा विदेशी फोफाने ड्राहिमाले कडा प्रहार गरेको बललाई हिमालयनका कीपर किशोर गिरीले सजिलै रोके । लगत्तै, धरानका योगेश राईले प्रहार गरेको सिधा फ्रि–किक बललाई हिमालयनका किपर किशोरले पञ्च गरी आउट फालेर क्लियर गरे ।

शनिबार लिग विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र एपीएफबीच पहिलो क्वार्टरफाइनल खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । एपीएफले उद्घाटन खेलमा आयोजक सहारालाई पराजित गरी मनाङसँग भेट सुनिश्चित गरेको हो ।

खेलपछि धरानका प्रशिक्षक सागर घिमिरेले क्लबका तीन मुख्य खेलाडी नेपाल पुलिस र च्यासल क्लबमा आबद्ध भएपछि टोलीको प्रदर्शन खस्किएको उल्लेख गरे । मिलन राई र मनोज राई नेपाल पुलिस क्लबमा र हेमन्त थापामगर च्यासल युथ क्लबमा आबद्ध छन् ।

हिमालय शेर्पाका टिम म्यानेजर विजेन्द्र पुडासैनीले सोचेजस्तो प्रदर्शन गर्न नसकेको स्वीकारे। मिडफिल्ड जम्न नसकेका कारण सोचे जति स्कोर नआएको उनले बताए ।

More News last news
Loading...