‘देउवा असफल भए, अब नेतृत्वको लागि नयाँ मोर्चा बनाउँछौं’ : नेतृ कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेतृ कोइरालाले भनिन्,‘मलाई त आश्चर्य लागेको छ, यत्रो दुई तिहाई बहुमतको सरकार छ, विकास होला भन्ने लागेको थियो । तर, सरकार यो ९ महिनामा पूर्ण रुपमा ‘फेलियर’ भयो । मुलुकमा स्थिरताको साटो अस्थिरता देखियो । विकास निर्माणका कामले गति लिन सकेनन् । कर बढाएर जनतालाई भार थप्ने काम गर्यो । जनतालाई अप्ठ्यारो अवस्थामा पुर्याईएको छ।’ नेतृ कोइरालाले अब ढिला नगरीकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने पनि सुनाईन् । उनले भनिन्,‘अब पार्टीको संगठन विस्तार गर्नुपर्छ ।

Advertisement

यो कामलाई गाउँ÷गाउँमा लगेर तल्लो तहमा पुर्याउनुपर्छ । हामी तीन जना कोइरालाहरु सशांक, शेखर दा र म एक छौं । अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो ।’ आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको उनको स्पष्टोक्ति छ । उनले भनिन्,‘समय आएपछि सबैजना बसिकन् सल्लाह गरेरमात्रै को सभापति बन्छ ? त्यो कुरा हुन्छ । तर, अहिले भने हामीहरु तीन जना एकजुट भईकन अगाडि बढेका छौं । र, हामीहरु तीन जनाले अब जिल्ला/जिल्ला घुम्नुपर्ने पनि आवश्यकता मैले देखें ।

मोरङमा पनि उत्साह देखियो । जिपी कोइराला फाउण्डेशनको कार्यक्रममा पूर्वाञ्चलका सबै साथीहरु आउनुभयो । ठूलो उर्जा देखियो, अब यसलाई ढिला नगरी विस्तार गर्छौं ।’ उनले कांग्रेस अहिले कमजोर भयो भन्ने हल्ला भैरहेको सुनाउँदै तर अहिलेपनि आफ्नो पार्टी बलियो नै रहेको जिकिर गरिन् । उनले भनिन्,‘हामीले निर्वाचनमा सिट कम ल्याएका हौं । तर, यही समय सँधै रहिरहन्छ भन्ने छैन् । जनताको बिचमा हाम्रो साथीहरु जानुहुन्छ । उहाँहरुले पार्टी बचाउनुहुन्छ भन्ने मलाई पूरा विश्वास छ । यदि कसैले प्रजातन्त्रलाई मास्छु, समाप्त पार्छु भन्ने सोचेको छ भने त्यो आँफै समाप्त हुन्छ । तर, देश समाप्त हुँदैन् । प्रजातन्त्र समाप्त हुँदैन् ।’ कांग्रेस बलियो हुँदा देशमा विद्यमान सबै समस्या समाधान भएको पनि उनले सुनाईन् । उनले भनिन्,‘कांग्रेस बलियो हुँदा देशको सबै समस्या सम्बोधन गरेको छ । शान्ति प्रक्रियादेखि लिएर हरेक कुराको समाधानपनि कांग्रेसले नै गरेको हो ।

मुलुकमा जतिपनि अस्थिरता हुन्छ, त्यसको समाधानपनि कांग्रेसले नै दिएको छ र दिन्छ । यो मुलुकलाई फेरी उचाइमा लिएर जान्छौं । देशमा गर्व गर्ने दिन फेरि आउँछ । त्यो दिन धेरै पर छैन् ।’ त्यस्तै नेतृ कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यशैली तत्काल नसच्याए पार्टीलाई ठूलो क्षति हुने पनि दाबी गरिन् ।

उनले भनिन्,‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुर्याईरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गैराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ ।’

More News last news
Loading...