काठमाडौं । लोकसेवा आयोगले दुई हजारभन्दा बढीको संख्यामा अधिकृतस्तरका कर्मचारीको विज्ञापन गर्ने भएको छ।
आयोगले निजामती सेवाअन्तर्गत शाखा अधिकृतदेखि सहसचिवसम्मका लागि विज्ञापन निकाल्ने तयारी गरेको हो। संशोधित कार्यतालिका अनुसार मंसिर २६ गते अधिकृतका लागि विज्ञापन आह्वान गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । यसअघि सरकारको निर्णयका कारण लोकसेवाको कार्यतालिका दुई महिना पर सरेको थियो ।
‘आयोगले एकै पटक यति ठूलो संख्यामा विज्ञापन गर्न लागेको पहिलो हो’, सुवेदीले भने, ‘संघ, प्रदेश र स्थानीय तहका लागि धेरै कर्मचारी आवश्यक छन्।’ आयोगले गतवर्ष शाखा अधिकृतदेखि सहसचिवसम्म १ हजार ९ सय ७० संख्यामा विज्ञापन मागेको थियो। यस वर्ष भने त्योभन्दा पनि बढीको संख्यामा आवेदन खुल्ने सुवेदीले बताए ।
आयोगले मंगलबार नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, न्यायसेवा आयोग र व्यवस्थापिका संसद्लाई आवश्यक कर्मचारी माग्दै विवरण पठाउन परिपत्र गरेको छ ।
यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
