काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।
उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने उच्च स्रोतको दाबी छ । नेपालमा मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।
यसको सर्वत्र आलोचना भएको छ । सत्तारुढ नेकपाकै नेताहरुले समेत आलोचना गरे । मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेपनि यो बिषय साम्य हुन सकेको छैन् । बालुवाटारमा राति अबेरसम्म भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई राजीनामा दिन सुझाएका छन् ।
मन्त्री तामाङले दिउँसो २ बजे कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् । स्रोतका अनुसार उनले त्यहीबाट मन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्ने तयारी छ । हिजो मात्र प्रमख प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि कानुनमन्त्रीको वर्खास्तको माग गरेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
