वार्तामा आउन डा.केसीलाई प्रधानमन्त्रीको सन्देश, अनसन तोडेमा प्रधानमन्त्री आफैंले वार्ता गर्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले पछिल्लो अनसन थालेको २४ दिन बितिसकेको छ । यसबीचमा सरकारले उनलाई जुम्लाबाट काठमाडौं ल्याए पनि औपचारिक वार्ता हुन सकेको छैन ।

शिक्षासचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोलीसँग केसीले वार्ता गर्न अस्वीकार गरेका छन् । यसकारण वार्ता अझै अनिश्चित भएको हो । यसैबीच सरकारले अनसन तोडेर वार्तामा आउन डा.केसीलाई सन्देश पठाएको छ ।

Advertisement

बालुवाटार निकट स्रोतका अनुसार केसीले अनसन तोडे प्रधानमन्त्री केपी शर्मा ओली आफैंले सीधै वार्ता गर्ने सम्भावना छ । यसअघि पटकपटक सहमति भए पनि समस्याको समाधान नभएपछि प्रधानमन्त्री आफैंले डा. केसीसँग वार्ता गर्ने मनस्थिति बनाएको स्रोतको दाबी छ । यसबारेको सन्देश डा.केसीलाई पठाए पनि उनले जवाफ नपठाएको स्रोतको भनाई छ ।

सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक संसदबाट फिर्ता हुनुपर्ने माग राख्दै डा.केसीले असार १६ गते जुम्लाबाट अनसन सुरु गरेका हुन् ।

अनसनका कारण स्वास्थ्य अवस्था गम्भीर देखिएपछि सरकारले डा.केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ । उनको मागप्रति बिभिन्न राजनीतिक दल, नागरिक समाज तथा पेशागत संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् ।

More News last news
Loading...