काठमाडौँ । गृह मन्त्रालयले बाढी पहिरो, डुबानजस्ता प्राकृतिक विपत्ति तथा त्यसबाट उत्पन्न समस्याको प्रभावकारीरुपमा सामना गर्न प्रादेशिक सरकार, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई सजगता र समन्वय बढाउन आग्रह गरेको छ ।
लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढीको प्रभाव पर्न थालेपछि आज गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा सरोकारवालासमेतको बैठकले वर्षाको पूर्वसूचना सम्प्रेषण, राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र, जल तथा मौसम विज्ञान विभागलगायतका निकायलाई समेत सक्रिय बनाउने निर्णय गरेको छ ।
यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलकोे जनशक्ति र स्रोतसाधन, स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि तथा चिकित्सक टोली तम्तयार राख्नेसमेत बैठकले निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा गएराति परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीनसहित विभिन्न जिल्ला प्रभावित भएका छन् । बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि रु १० हजारका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय भएको उल्लेख छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
