रोल्पा– सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको विरोधमा रोल्पास्थित नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले बिहीबार पुत्ला जलाएका छन् । ‘भ्रष्टाचारी’ लेखिएको पुत्ला बोकेर कांग्रेस पार्टी कार्यालयबाट लोकतान्त्रिक चोक हुँदै टुँडिखेल पुगेका कार्यकर्तालाई पुत्ला जलाउन प्रहरीले रोक्न खोजेको थियो ।
झन्डा तथा जलाउन थालिएको पुत्ला प्रहरीले खोस्न खोजेपछि कांग्रेस कार्यकर्ता र प्रहरीबीच केहीबेर तानातान भएको थियो। उनीहरुले ‘कालोबजारी मुर्दावाद, मूल्यबृद्धि फिर्ता गर, जनविरोधी सरकार मुर्दावाद, कम्युनिस्ट सरकार राजीनामा दे,’जस्ता नारा लगाउँदै लिबाङको टुँडिखेलमा पुगेका थिए।
पुत्ला जलाएपछि सहभागीलाई सम्बोधन गर्दै नेविसंघ रोल्पाका अध्यक्ष शेरबहादुर थापाले अनावश्यक मूल्यबृद्धि गर्ने सरकारको कदम जनविरोधी भएको टिप्पणी गरे। ‘हामीले उठाएको आवाज जनताको आवाज हो’ अध्यक्ष थापाले भने ‘जनताको दैनिकीसँग जोडिएको पेट्रोलियम पदार्थको मूल्यबृद्धि गर्ने काम कम्युनिस्ट सरकारको नालायकीपन हो।’
त्यस्तै संघका सचिव नारायण रेग्मीले सरकारले मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने बताए । नेपाल विद्यार्थी संघले केन्द्रीय कार्यक्रमअनुसार एकसातादेखि आन्दोलन गरिरहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
