व्यक्ति हत्याको अभियोगमा काराबासमा रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता बालकृष्ण ढुंगेललाई आम माफी दिने बारेमा सरकारले आज स्पष्ट पार्ने भएको छ।
ढुंगेललाई आम माफी दिनु पर्नाको कारण पेश गर्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएकाले सरकारले आज अदालतमा कारण पेश गर्ने भएको हो।
शुक्रबार रिट निवेदकको तर्फबाट मात्रै प्रारम्भीक सुनुवाई गराएको अदालतले हिजो दुवै पक्षको सुनुवाई गराउने तयारी भएपनि पालो नआएकाले आज सुनुवाई गर्ने तयारी भएको छ।
दुवै पक्षको बहस सुनेपछि अदालतले ढुंगेललाई माफी दिन सरकारले सुरु गरेको प्रक्रियामा अन्तरिम आदेश दिने की नदिने भन्ने बारेमा आज निर्णय सुनाउने छ।
आज सम्ममा निर्णय नसुनाएमा सरकारले भोली गणतन्त्र दिवसका दिन ढुंगेललाई माफी दिन अवरोध हुने छैन ।गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ढुंगेललाई जेलमुक्त गर्न लागेको भन्दै सर्वोच्च अदालतमा जेलमुक्त नगर्न माग सहित रिट निवेदन दायर भएको छ।
अदालतबाटै दोषी ठहर भएको लामो समयपछि कारागार चलान भएका ढुंगेललाई कैद माफी गर्न नमिल्ने तर्क सहित बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको हो। सरकारले शक्तिको दुरुपयोग गर्दैै अगाडी बढाएको कैद माफी प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेशको माग गरिएको त्रिपाठीले बताउनुभयो।
अदालतको फैसला बमोजिम सजाय भुक्तान गरिरहेको व्यक्तिलाई विनाकारण माफी दिनु कानुनी राज्यको मर्म विपरित हुने भन्दै अधिकारकर्मी, कानुनव्यवसायी र प्रमुख प्रतिपक्षी दल काँग्रेसले पनि आपत्ति जनाएका छन्।
कैदमा बसेका कैदीहरुको आचरण सुध्रिएमा ६० प्रतिशतसम्म कैद माफी दिन सकिने कानुनी प्रावधान रहेकोको छ। त्यही प्रावधानको दुरुपयोग गरेर कुनै आधार विना ढुंगेलको आचरण ठिक भएको दावी सहित माफी दिन लागिएको उनीहरुको भनाई छ।
तर सरकारी पक्षले भने गलत फैसलाका कारण संजाय भोगीरहेकाहरुलाई आम माफी दिन पाउने व्यवस्था अनुसार ढुंगेललाई पनि माफी दिनु पर्ने तर्क गरेको छ।
सत्तारुढ नेकपाका नेता हरिबोल गजुरेलले माओवादी युद्धका क्रममा भएका घटनालाई अदालत लैजानु गतल भएको दावी गर्नुभयो।
सरकारले नेकपा नेता ढुंगेललगायत झण्डै ८ सय जनालाई सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद माफी दिन लागेको बताइएकोछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
