मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क एकतर्फी रुपमा खारेज गरेको घोषणा गरेको छ।

श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताएको छ। मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन्।

Advertisement

मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्थ्यो । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ।

तर, यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ।

त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ । माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ।

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए-नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ।

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन्। तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको छ ।

More News last news
Loading...