काठमाडौं । नेकपा माओवादी केन्द्रले बाम गठबन्धनको घोषणापत्रमा आधारित भएर नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारसँग आग्रह गरेको छ ।
मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले बाम गठबन्धनले चुनावका वेला बनाएको साझा चुनावी घोषणापत्र कार्यान्वयन हुने गरि नीति तथा कार्यक्रम र बजेट ल्याउन सरकारलाई सुझाव दिएको हो ।
पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा संघीयताको मूल्य, मान्यतामा अडिएर सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने सुझाव दिएको माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
बैठकले पार्टी संसदीय दलको विधान पनि अनुमोदन गर्दै राष्ट्रियसभामा दलको नेता दिनानाथ शर्मालाई बनाउने निर्णय पनि गरेको छ । त्यसैगरी कानुन निर्माणको कामलाई सहज बनाउन कानुन विभाग गठन गर्ने भएको छ ।
बैठकमा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुन निर्माणको काममा केन्द्रित हुन पनि पार्टीका सांसदलाई निर्देशन पनि दिए । सरकारले जेठ १५ गते बजेट ल्याउँदैछ । जेठ १ गते संसदमा नीति तथा कार्यक्रम पेश हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
