काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि जिल्ला प्रशासन कार्यायलयले त्यहाँ पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ ।
गत वैशाख २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपालको दुईदिने राजकीय भ्रमणमा आउने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम रहेको छ ।
शाखा अधिकृत जितेन्द्र बलामीले जारी सूचनामा प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गर्ने भएकाले सुरक्षा व्यवस्थालाई सुरक्षित र भरपर्दो बनाउन यात्रुहरुको आवागमनमा रोक लगाउने निर्णय गरिएको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, मनाङ जिल्लाबाट थोरङला पास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने पदयात्रीहरुलाई वैशाख २८ र २९ गते रोक लगाउने निर्णय भएको साथै मुक्तिनाथ दर्शनका लागि बेनी जोमसोम हुँदै आउने यात्रुहरु एवम् हेलिकोप्टरको माध्यमबाट मुक्तिनाथ क्षेत्रमा आउने यात्रुहरुलाई यही वैशाख २८ र २९ गते मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको हुँदा सोही अनुसार गर्नु–गराउनुहुन अनुरोध छ ।’
मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको छ । काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अतिविशिष्ट कक्ष तयार, १०८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको छ । मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएका छन् । वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्ने कार्यक्रम छ ।
उच्च विदेशी पाहुना आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।
राससका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
