काँकडभिट्टा । केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आइतबार एकीकरण घोषणा गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा एमाले र माओवादी वडा कमिटीबीच एकीकरण गरिएको हो ।
केन्द्रमा समेत दवाव सिर्जना गर्न वडा तहमा दुबै कमिटी गाभेर नयाँ कमिटी घोषणा गरिएको एमाले झापा जिल्ला कमिटीका सल्लाहकार सदस्य भीम खवासले बताए ।
धुलावारी बजारमा दुबै पार्टीका कार्यकर्ताहरूले संयुक्त रुपमा र्याली निकाल्नुका साथै कोणसभा र पत्रकार सम्मेलन गरेका छन् ।
कोणसभामा प्रकाश खड्काको संयोजकत्वमा ७७ सदस्यीय नयाँ कमिटी घोषणा गरिएको थियो । खड्का यसअघि एमाले मेचीनगर वडा नं १० का अध्यक्ष थिए ।
यसअघि माओवादी केन्द्रको वडा कमिटीका अध्यक्ष रहेका दलबहादुर कट्टेलले केन्द्रमा एकीकरण गर्न विलम्ब भएकाले स्थानीय कार्यकर्ता र शुभेच्छुकहरूको आग्रहअनुसार वडा तहमा स्वतःस्फुर्त एकीकरण गरिएको बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
