सघीयतामा दुईवटा प्रान्तबीच के-के विषयमा विवाद हुनसक्छ भन्ने कुराको गतिलो उदाहरण हालै भारतका दुई राज्यले प्रस्तुत गरेका छन्।
भारतका मध्यप्रदेश र छत्तिसगढ राज्यबीच हालै एउटा कुखुराको विषयलाई लिएर विवाद भएको छ।
मासुको उत्कृष्ट स्वादका लागि चर्चित कडकनाथ प्रजातिको कुखुराको विषय दुई राज्यबीच विवादको विषय बनेको हो।
उक्त प्रजातिको भौगोलिक संकेत नम्बर अर्थात् जिटिआई ट्यागका विषयमा दुवै राज्यले आ-आफ्नो दाबी पेश गरेका छन्। दुवैले उक्त कुखुराको प्रजातिको भौगोलिक ट्रेडमार्क आफ्नो भएको भन्दै पेटेन्टका लागि चेन्नईस्थित भौगोलिक संकेत पञ्जीकरण कार्यालयमा निवेदन दिएका छन्।
उक्त कुखुराको उत्पत्ति झाबुआ जिल्लामा भएको दाबी मध्यप्रदेश प्रान्तको छ भने छत्तिसगढले चाहिँ कडकनाथ कुखुराको प्रजातिको उत्पत्ति छत्तिसगढको दन्नेवाँडा जिल्लामा भएको दाबी गरेको छ।
विज्ञहरुका अनुसार यो कुखुराको मासुमा आइरन र प्रोटिनको उच्च मात्रा पाइन्छ भने कोलेस्ट्रोल कम पाइन्छ। यो कुखुराको रगतको रंग पनि कालो हुन्छ। यो कुखुराको मासु महंगो मूल्यमा बिक्ने गरेको छ।
यस्तो बहुमुल्य कुखुराको भौगोलिक संकेतको अधिकार आफ्नो नाममा दर्ता गरेर त्यसको व्यवसायिक लाभ लिने दाउमा भारतका दुईवटा राज्य लागिपरेका हुन्। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
