कांग्रेसमा देउवा झन् ‘शक्तिशाली’

काठमाडौं। स्थानीय तह, प्रदेशसभा र संघीय संसदको निर्वाचनमा कांग्रेसको लज्जास्पद हारपछि पार्टीभित्र देउवाले राजीनामा दिनुपर्ने आवाज बलियो भयो। तत्काल महाधिवेशन बोलाउनु पर्ने र नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै युवा नेताहरुले दबाव अभियान नै चलाए।

पार्टी एकलौटी ढंगले चलाएको, सरकारको नेतृत्व गर्दा अलोकप्रिय निर्णय गरेको जस्ता दोष दिएर देउवालाई तत्काल नेतृत्व हस्तान्तरण गर्न दबाव पर्यो। देउवाले पार्टी पराजयको कारण आफूमात्र नभएको र त्यसको जिम्मा सिंगो पार्टीले लिनुपर्ने अडान राखे।

Advertisement

देउवाको विरोध भइरहेको बेला सोमबार भएको संसदीय दलको नेतामा देउवा भारी मतले विजयी भएका छन्। देउवलाई चुनौती दिएका प्रकाशमान सिंहले जम्मा १९ मत मात्र पाए। सिंहलाई पौडेल पक्षधरको समर्थन थियो। देउवालाई संसदीय दलको नेतामा नउठ्न भन्दै पौडेल पक्षले अन्तिम समयसम्म पनि दबाव दिएको थियो।

तर देउवाले पार्टी सभापति नै संसदीय दलको नेता बनेको विगतको उदाहारण दिँदै उम्मेद्वारी दिएका थिए। र परिणाम पनि उनकै पक्षमा आएको छ। कुल ६३ सांसद रहेको कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट जितेको थियो। प्रत्यक्षतर्फ पौडेल समूहको बहुमत भएपनि समानुपातिकतर्फ भने संस्थापन पक्षको स्पष्ट बहुमत थियो।

संसदीय दलको निर्वाचनमा देउवा विजयी भएसँगै उनी कांग्रेसभित्र झन शक्तिशाली भएका छन्। देउवाले आफ्ना निकटमा नेता गोपालमान श्रेष्ठमार्फत रामचन्द्र पौडेललाई आफूलाई समर्थन गर्न र त्यसबापत संसदीय दलको उपनेता वा प्रमुख सेचतमध्ये एक पद लिन आग्रह गरेका थिए। तर पौडेलले सो विषयमा कुनै छलफल गर्न आवश्यक नभएको जवाफ दिएको थियो।

देउवाले चुनाव जित्ने निश्चित भएपनि यति धेरै मत ल्याउँछन् भन्ने सोचेका थिएनन्। उनले आफू निटकलाई बढीमा ४० मत आउने बताउने गरेका थिए। तर निर्वाचन परिणाममा त्यो भन्दा चार मत बढी आयो। देउवा संसदीय दलको नेतामा भारी मतले विजयी भएसँगै उनको राजीनामा माग्नेमाथिलाई गतिलो जवाफ दिएको छ।

अब कांग्रेसभित्र नेतृत्व परिवर्तनको संभावना टरेको छ भने पौडेल पक्ष रक्षात्मक अवस्थामा पुगेको छ। सभापतिमा निर्वाचित भएपछि देउवाले पार्टीलाई राम्रोसँग संचालन गर्न नसकेको, गुटलाई प्रश्रय दिएको, पदाधिकारी नियुक्त गर्न नसकेको भन्दै कांग्रेसभित्र नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका बेला देउवा संसदीय दलको नेतामा पुन निर्वाचित भएका हुन्।

संसदीय दलको निर्वाचनमा पराजित भएपनि प्रकाशमान सिंहले आफूलाई बैकल्पिक नेताका रुमपा स्थापित गरेका छन्। निर्वाचनमा आफ्नो जित हुँदैन भन्ने उनलाई थाहा थियो। तर पनि उनले देउवासँग चुनाव लडेर आफूलाई बैकल्पिक नेताका रुपमा स्थापित गराएका छन्। रामचन्द्र पौडेल प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले सिंहलाई संसदीय दलको नेता बनाउन पहल गरेका थिए।

More News last news
Loading...