पोखराका पत्रकार हमालको रिहाइ माग गर्दै पत्रकार आन्दोलित

रिजन नेपाल

पोखरा । सर्वोच्च अदालतको आदेशमा मंगलबार रिहा भएका पत्रकार ओम हमाललाई सोही दिन पुनः अदालतको गेटबाटै पक्राउ गरिएको घटनाप्रति पत्रकार आन्दोलित भएका छन् ।

Advertisement

गण्डकी प्रदेशको आह्वानमा नेपाल पत्रकार महासंघ कास्कीले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिँदै ज्ञापनपत्र बुझाएका छन् । पत्रकारहरुले पत्रकार ओम हमाललाई तत्काल रिहा गर, कानुनी राज र सर्वाेच्च अदालतको फैसलाको सम्मान गर लगायतका नाराबाजी गर्दै तत्काल रिहाको माग गरेका हुन् ।

सो क्रममा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका सल्लाहकार नवराज सुवेदी, नेपाल प्रेस युनियन कास्की नवीन सिग्देल, राष्ट्रिय फोटो पत्रकार गण्डकी प्रदेश अध्यक्ष राम गुरुङ, प्रेस संगठनका सन्देश श्रेष्ठ, इन्सेकका प्रदेश प्रमुख शिवकुमार खकुरेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, महासंघ कास्की उपाध्यक्ष बिमला भण्डारी, महासंघ सदस्य कमल पौडेल अथक लगायतले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको भन्दै पत्रकार हमालको रिहा नगरेसम्म आन्दोलन गरिरहने चेतावनी दिए।

विप्लव समूहको कार्यकर्ता भएको आरोपमा प्रहरीले गत भदौ ६ गते उनलाई कास्कीको सिसुवाबाट पक्राउ गरेको थियो ।यसैबीच, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कास्कीका सहायक प्रजिअ श्रीनाथ पौडललाई ज्ञापनपत्र हस्तान्तरण गरे ।

हमालको रिहाइको माग गर्दै पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै न्यायाधीशहरु केदारप्रसाद चालिसे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । तर, हमाललाई रिहा गर्ने आदेश लगत्तै सर्वोच्चको गेटबाटै पुनः पक्राउ गरिएको थियो।

पोखरा निवासी हमाल नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य एवं जनसञ्चार डटकम अनलाइनका सम्पादक हुन्।

More News last news
Loading...