रिजन नेपाल
पोखरा । अन्तरसामुदायिक भलिबल उपाधि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगरले जितेको छ। पोखरामा आइतबार फाइनलमा सामुदायिक जिल्ला समन्वय समितिलाई सोझो सेटमा पराजित गर्दै सामुदायिक बगरले उपाधिसहित खसी, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
उपविजेताले बोकासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पायो। प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो।सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा १४ औं तीज सांस्कृतिक महोत्सव अवसरमा पहिलो दिन भलिबल प्रतियोगिता भएको हो।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्की वेष्ट स्काइकर, बैदामका डिएसपी कोमल शाह वेष्ट प्लेयर र बगरका दीपक थापा वेष्ट बलर घोषित भएको प्रतियोगिता संयोजक दीपेन्द्र पहारीले जानकारी दिए। विजेतालाई प्रदेश सांसद राजीव पहारीले पुरस्कार वितरण गरे।
सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष उमा भण्डारी र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए । यसैबीच, तीज सांस्कृतिक महोत्सवमा अवसरमा सामुदायिक बैदामले सोमबार तीज गीत प्रतियोगिता आयोजना गर्दैछ।
विजयीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रथमले २१ हजार, दोस्रोले १६ हजार, तेस्रोेले ११ हजार, सान्त्वना २ समूहले जनही ४ हजार ५ सय रुपैयाँ पाउनेछ । यसैगरी, उत्कृष्ट नृत्य र उत्कृष्ट भेषभूषामा जनही २ हजार रुपैयाँ दिइनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
