रिजन नेपाल
पोखरा । नेपाली काँग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा संघीय संसद्का सदस्य सूर्यबहादुर केसीले सुप्रेम शारदा पत्रकारिता पुरस्कार घोषणा गरेका छन्। प्रेस युनियन कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यक्रममा पोखराका वरिष्ठ उद्योगी एवं समाजसेवी समेत रहेका केसीले पुरस्कारको लागि ६ लाख अक्षयकोष स्थापनाको घोषणा गरेका हुन्।
प्रेस युनियन कास्कीले संचालन गर्ने गरी स्थापित सो पुरस्कार गण्डकी प्रदेशमा कार्यरत एकजना पत्रकारलाई हरेक वर्ष नगद ५१ हजार सहित सम्मान गरिनेछ। सो पुरस्कार युनियनकै इतिहासमा सबैभन्दा ठूलो धनराशीको पुरस्कार रहेको युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलले बताए। आफ्नी बहिनी शारदा केसी रोकाहाको स्मृतिमा समाजसेवी केसी र उनकी धर्मपत्नी प्रेमकुमारी केसी परिवारले सो पुरस्कार स्थापना गरेका हुन् । पुरस्कारको संस्थापक तथा संरक्षक स्वयं सूर्यबहादुर केसी रहनेछन् ।
केसी परिवारले यसअघि पनि पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी कीर्ति स्मृति पत्रकारिता सम्मानको लागि ११ लाख प्रदान गरिसकेका छन् ।पत्रकारमैत्री समेत भनी चिनिने समाजसेवी केसी आफूलाई दिनमै आनन्द लाग्ने कुरा व्यक्त गरे । उनले पुरस्कार वितरणमा जात, धर्म, लिङ्ग, आस्थाका आधारमा विभेद नगर्न सुझाव समेत दिए ।

उनले पत्रकारले चलाउने कलमकै कारण सरकारका राम्रा–नराम्रा कार्य औल्याउने र सरकारलाई सजक गराउन भूमिका खेल्ने भएकोले आफ्नो ध्यान पत्रकारप्रति रहेको बताए ।सांसद केसीले पत्रकारिताको माध्यमबाट लोकतान्त्रिक पद्दति र नागरिक स्वतन्त्रता एवं सनातन कालदेखि चल्दै आएको धर्म संस्कृतिको संरक्षणमा समेत टेवा पु¥याउने बताए । यस्तै, उनले देशैभरिका पत्रकारको उपचार सहयोगार्थ छिट्टै अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।
यसैबीच, पत्रकार ओम हमाललाई राजनीतिक आस्थाका आधारमा प्रहरी हिरासतमा नराख्न आग्रह गरे भने युनियनका सल्लाहकार राजबहादुर गुरुङको उपचारमा आफूले सक्दो सहयोग गर्ने बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले पुरस्कारले पत्रकार जगतलाई थप जिम्मेवारी बनाउन भूमिका खेल्ने बताए । उनले पत्रकारमाथि राज्यले गरेको धरपकडलाई तत्काल बन्द गर्न समेत आग्रह गरे । पौडेलले लोकतन्त्रमा आस्थाका आधारमा कोही व्यक्तिलाई सरकारले नियन्त्रणमा लिन नपाउने बताए ।
प्रेस युनियनका सल्लाकार रवीन्द्र बास्तोलाले प्रेसमाथि भएको हस्तक्षेपको विरुद्धमा एकजुट हुनुपर्ने बेला आएको बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पुरस्कारका नाम धेरै भएको भनिए पनि संस्थागत पुरस्कार भने अझै कमी नै रहेको बताए । उनले पुरस्कार वितरणमा सबै खेमाका पत्रकारलाई अपनत्व हुने गरी वितरण गर्न सुझाव दिए ।
प्रेस युनियनका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी उपाध्यक्ष विमला भण्डारी, युनियन उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा, सचिव प्रदीप पौडेलले लगायतले आफ्नो धारणा राखेका थिए । सोही अवसरमा प्रेस युनियन कास्कीका सल्लाहकार रवीन्द्र बास्तोला प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका र कालिका बहुमुखी क्याम्पसको प्रमुख हुन सफल भएकोमा सो अवसरमा युनियनले सम्मान गरेको थियो।
यस्तै, युनियनका सल्लाहकार राजबहादुर गुरुङको थप उपचारार्थ आवश्यक रकम संकलनमा पहल गर्ने युनियनका सचिव प्रदीप पौडेलले जनाएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
