फोटोग्राफी दिवसका अवसरमा पोखराका सुव्वा पुरस्कृत

रिजन नेपाल

पोखरा । १८० औं विश्व फोटोग्राफी दिवस अवसरमा पोखराका फोटोग्राफर मदनकुमार इङ्नाम सुव्वा ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ बाट पुरस्कृत भएका छन् । पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले सोमवार आयोजना गरेको समारोहमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उनलाई २५ हजार ५ सय ५५ सहित सम्मानपत्र प्रदान गरे।

Advertisement

सो अवसरमा मन्त्री लम्सालले गण्डकी प्रदेशमा प्रचूर पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसको प्रचारप्रसारका लागि फोटोग्राफीको महत्व रहेको बताए । उनले गण्डकी प्रदेशमा सन् २०२२ मा २० लाख पर्यटक भित्राउने गरी तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा संघ अध्यक्ष रविनाथ दाहाल, संघका निवर्तमान अध्यक्ष तुलसी दाहाल, प्रतिभा छनोट समिति संयोजक संघका पूर्व अध्यक्ष रामजी थापा, संघ महिला उपसमिति संयोजक पूर्णकुमारी थापा लगायतले फोटोग्राफीको महत्वबारे बोलेका थिए।

२०३९ सालमा स्थापित संघमा हाल १ सय ७७ सदस्य रहेको पूर्व अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए । संघले विभिन्न समयमा अवार्ड तथा विभिन्न पुरस्कार वितरण गर्दैआएको छ । पोखराका गणेश छविले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिन्छ ।

फोटोग्राफी व्यवसाय तथा फोटोको माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटो पत्रकार विश्वरत्न शाक्य, नारायण बाटाजु र रमा राना सम्मान भइसकेका छन् । यसैबीच, दिवस अवसरमा संघले सोमवार बिहान पोखरामा प्रभातफेरी गर्नुका साथै साईकल यात्री खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरेको छ ।

More News last news
Loading...