पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कागजपत्र अख्तियार नियन्त्रणमा

पोखरा समाचारदाता

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा आर्थिक अनियमितता भएको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आइतवार कागजात नियन्त्रणमा लिएको छ।

Advertisement

अस्पतालको एमआरआई मेसिन खरिद क्रममा अनियमिता भएको उजुुरी आधारमा छानविनका लागि कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए।

केही दिनअघि मात्रै अस्पतालको सामाजिक सेवा इकाइ सञ्चालनका विषयमा आर्थिक चलखेलको उजुरी आएकाले सोको कागजपत्र समेत नियन्त्रणमा लिने भनिए पनि अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा बुद्धिबहादुर थापा पोखरा बाहिर रहेकोले सोको कागजात भने लिन नपाएको उनको भनाइ छ।

उनका अनुसार डा थापा पोखरा आएपछि सो सम्बन्धी कागजात बुझाउने भएका छन्। सामाजिक सेवा सञ्चालनका लागि अस्पतालले असार २३ गते सार्वजनिक सूचना समेत जारी गरिएको थियो भने चार वटा गैह्र सरकारी संस्थाले निवेदन दिएका थिए।

अस्पताल भित्र सामाजिक इकाई संचालन गर्ने अधिकार अस्पतालका निर्देशकको हुने व्यवस्था बनाइएको छ। अस्पताल व्यवस्थापन समितिलाई वेवास्ता गर्दै डिनको संयोजकत्वमा बनाइएको समितिमाथि आर्थिक चलखेल भएको उजुरी अख्तियारमा परेको थियो।

सामाजिक सेवा इकाइ सञ्चालनका लागि असल छिमेकी सहयोगी संस्था (गोनेसा), कोपिला नेपाल, कम्युनिटी सपोर्ट ग्रुप र टिमलिडर लोकल अर्गनाइजेसन समेतले आवेदन दिएका थिए।

More News last news
Loading...