साउदी अरेबियाका महिलाहरूलाई एक्लै विदेश घुम्न अनुमति

काठमाडौँ । साउदी अरेबियाका महिलाहरूलाई स्वतन्त्र रूपमा विदेश यात्रा गर्न बाटो खुलेको छ। शुक्रवार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीहरूले पुरुष अभिभावकको सहमती नभएपनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्नेछन्।

राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्थापछि महिलाहरूलाई पुरुषसरह अधिकार दिइएको बताइएको छ। यस अघि साउदी अरेबियामा महिलाहरूले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने थियो।

Advertisement

आदेशपछि साउदी अरेबियामा महिलाहरूले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ। साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ जसअनुसार लिङ्ग, अशक्तता वा उमेरका आधारमा विभेद नगरी काम गर्न सक्ने अधिकार सबै नागरिकहरूसँग सुरक्षित रहेको बताइएको छ।

युवराज मोहम्मद बिन सलमानले आफ्नो मुलुकमा रहेका प्रतिबन्धहरूलाई फुकुवा गर्दै गएका छन्। महिलाहरूलाई सवारीसाधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उनले खुकुलो बनाएका थिए।

सन् २०१६ मा आफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै उनले जारी गरेको योजना अनुरूप रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको सङ्ख्या सन् २०३० सम्ममा ३० प्रतिशत पुर्याइने बताइएको छ।

पछिल्ला केही वर्षहरूमा लैङ्गिक उत्पीडनको दाबी गर्दै क्यानडाजस्ता राष्ट्रमा शरण लिने साउदी अरबका महिलाहरूको सङ्ख्या बढ्दै गएको छ। गत ज्यानुअरीमा क्यानडाले १८ वर्षीय रहफ मोहम्मद अल-कुकुनलाई शरण दिएको थियो। उनी साउदी अरेबियाबाट भागेर अस्ट्रेलिया जान खोजेकी थिइन्।

इस्लाम परित्याग गरेकाले परिवारबाटै आफ्नो हत्या हुन सक्ने दाबी गर्दै उनी भागेर थाइल्यान्ड पुगेकी थिइन्। उनले थाइल्यान्डबाटै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेकी थिइन। बीबीसी

More News last news
Loading...