रिजन नेपाल
पोखरा । जिल्ला कारागार कार्यालय स्याङ्जाका कैदी बन्दीको चाहनालाई ध्यानमा राखेर स्याङ्जा हरिनास–२ का २७ वर्षीय प्रकाश पौडेलले पत्रपत्रिका पढ्ने सुविधा मिलाएका छन । आफ्नो जन्मदिन अवसर पारेर उनले साउन ८ गते कारागारमा काठमाडौं तथा पोखराबाट प्रकाशित हुने दैनिक पत्रपत्रिका, साप्ताहिक तथा मासिक पत्रिका निःशुल्क उपलब्ध गराएका हुन् ।
पौडेलले कान्तिपुर, नारी, कान्तिपुर साप्ताहिक, नेपाल, काठमाडौं पोष्ट, अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, आदर्श समाज, हिमाल साप्ताहिक, स्वास्थ्य सन्देश, शिक्षक मासिक एक वर्षका लागि उपलब्ध गराएका हुन् । कारागार प्रमुख चूडामणि भण्डारीले पौडेलले सहयोगप्रति आभार व्यक्त गरे । उनले भने, ‘यहाँ आउनेहरु विभिन्न आश्वासन दिएर जाने गर्दथे तर अहिले उहाँ पौडेलको सहयोग अनुकरणीय छ । यसको सिको युवापुस्ताले सिक्नै पर्छ । ’ भण्डारीका अनुसारमा कारागारमा हाल १ सय ४४ जना बन्दी छन् । तीमध्ये ९ महिला छन् ।
कैदीका चौकीदार कृष्णखर शर्माले यसप्रकारको कार्यले आफूहरुलाई निकै फाइदा मिलेको बताए । यसको सदुपयोग गरी आगामी दिनमा सफल जिन्दगी जीउन सहज हुने आशा व्यक्त गरे । यसअघि पनि आफ्नो जन्मदिनका अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएका पौडेलले कसैको हेक्का नपुगेको क्षेत्रमा सहयोग गर्न पाउँदा खूशी लागेको प्रतिक्रिया दिए । उनले भने, ’बन्दीहरुको पनि जीवन हुन्छ । उनीहरु बाहिर निस्केपछि राष्ट्रको लागि महामानव बन्न सक्छन् । शिक्षा उज्यालो ज्योति हो । मानवको लागि सबैभन्दा महत्वपूर्ण बिना शिक्षा जीवन अन्धकारमय छ ।’
कैदीबन्दीको विगत जेजस्तो रहे पनि आगामी दिन अर्थपूर्ण बनाउन शिक्षाले सहयोग मिल्ने उनको विश्वास छ । बन्दीहरुको माग बमोजिम पौडेलले करिब २० हजार रुपैयाँ खर्चमा पत्रपत्रिका उपलब्ध गराएर अध्ययनको व्यवस्था मिलाएका हुन् । सानैदेखि मेहनति र सहयोगी स्वभावका प्रकाशले खाजा खर्च जोगाएर सो सहयोग गरेको बताए ।
उनी हाल पृथ्वीनारायण क्याम्पस एमबीएस तेस्रो सेमेष्टरमा अध्ययनरत छन् । उनले विगतमा जन्मदिनकै दिन रक्तदान तथा वृद्धाश्रममा सहयोग
गर्दैआएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
