कास्की : रुपाको रामकोट-रामदी सडक कालोपत्रे सुरु, पूर्वमन्त्री अधिकारीद्वारा शिलान्यास

पोखरा । कास्की जिल्लाको भौगोलिक हिसाबले सानो एवं प्राकृति सौन्दर्यले भरिपूर्ण रुपा गाउँपालिकामा सर्वोत्कृष्ट अस्फाल्ट (Asphalt) प्रविधिबाट सडक कालोपत्रे गरिने भएको छ । दुई वर्षअघि ट्रयाक खोलिएको रामकोट–रामदी सडक रु सात करोड ३५ लाखको लागतमा पक्की गरिने भएको छ ।

पाँच दशमलभ एक किलो मिटर लम्बाइ र छ मिटर चौडाइको एकतर्फी ढलसहितको सो सडक गाउँपालिकाको रु छ करोड ३५ लाख र सांसद क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत रु एक करोडको लागतमा निर्माण गरिने भएको हो।

Advertisement

पूर्वमन्त्री एवं सङ्घीय सांसद खगराज अधिकारीले शुक्रबार यहाँ आयोजित एक कार्यक्रमकाबीच बाटो निर्माण कार्यको शिलान्यास गर्दै ग्रामीण क्षेत्रमा निर्माण गरिएका पूर्वाधारको सही रुपमा सदुपयोग हुनुपर्नेमा जोड दिए। सङ्घ र प्रदेश सरकारले ग्रामीण क्षेत्रको पूर्वाधार विकासमा जोड दिँदै आएको उल्लेख गर्दै उजले निर्माण गरिएका भौतिक संरचनाको भरपुर उपयोग गर्दै उत्पादनसँग जोड्न स्थानीय बासिन्दासँग आग्रह गरे।

पोखराका नौ वटा तालमध्येको तेस्रो ठूलो एवं सुन्दर रुपा तालको संरक्षणका लागि सरकारले चालू आर्थिक वर्षमा रु आठ करोड बजेट विनियोजन गरेको बताउँदै उनले बाँध निर्माणसँगै पीडित स्थानीयवासीलाई मुआब्जा दिने कार्य अन्तिम चरणमा पुगेको बताए।

गण्डकी प्रदेशसभा अर्थ समितिका सभापति दीपक कोइरालाले सङ्घीय र प्रदेश सरकारको विकास निर्माणको मुख्य आधार स्थानीय सरकार भएको उल्लेख गर्दै गुणस्तरीय निर्माणका लागि निर्माण कम्पनी, जनप्रतिनिधि र स्थानीयवासीको समन्वय हुनुपर्नेमा जोड दिए।

अर्का प्रदेशसभा सदस्य गायत्री गुरुङले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानलाई सफल बनाउन सबै पक्षको सहयोगको खाँचो औँल्याउँदै रुपा गाउँपालिकाको विकास निर्माणमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक, खानेपानी, शिक्षा र स्वास्थ्य पालिकाको पहिलो प्राथमिकतामा रहेको जानकारी दिँदै रामकोट रामदी पिच मोटर बाटो निर्माणसँगै सबै वडा पालिकाको केन्द्रसँग यातायात जोडिने स्पष्ट पारे।

गाउँपालिकाका कूल तीन हजार ८०० घरमध्ये तीन हजार ४०० घरमा आगामी तीन महीनाभित्र खानेपानी धारा जडा गरिने बताउँदै उनले नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सञ्चालित हंसपुर खानेपानी योजनाका करीब ४०० घरधुरीमा भने डेढ वर्ष लाग्ने जानकारी दिए।

गाउँपालिकाका इञ्जिनीयर वीरेन्द्र तिवारीले सिमेन्टसहित राखेर पिच गरिने अस्फाल्ट कंक्रिट पिच मुलुकमा सम्पूर्ण गाउँपालिकामध्ये सम्भवतः पहिलो भएको बताउँदै अरुको तुलनामा यो प्रविधि गुणस्तरीय एवं टिकाउ हुने विश्वास व्यक्त गरे।

More News last news
Loading...