पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने २ जना प्रहरी कर्मचारीलाई यही श्रावण ०१ गते एक कार्यक्रमको आयोजना गरि पुरस्कृत गरेको छ।
प्रहरी सेवा प्रवाहका क्रममा अति उत्कृष्ट एवं जोखिमपूर्ण कार्य सम्पादन गरी आम नागरिकमा नेपाल प्रहरीप्रतिको विश्वासलाई बढाउने कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उनीहरुलाई प्रहरी सेवाप्रति थप प्रेरित गर्ने उद्देश्यले पुरस्कृत गर्ने कार्यक्रमको थालनी भएको हो।
आजको कार्यक्रममा वडा प्रहरी कार्यालय रामबजारमा कार्यरत प्रहरी सहायक निरीक्षक विशाल थापा क्षेत्री र जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान भरत कुमार भुजेल पुरस्कृत हुनु भएको छ।
प्रहरी सहायक निरीक्षक विशाल थापा क्षेत्रीले यही असार ०१ गते भएको रहस्यमय लक्ष्मी नेपाली हत्या प्रकरणको अनुसन्धानमा विशेष भूमिका निर्वाह गर्नु भएको थियो भने प्रहरी जवान भरत कुमार भुजेलले कास्कीमा पहिलो पटक पेन गन सहित १ जनालाई पक्राउ गर्ने कार्यमा विशेष भूमिका निर्वाह गर्नु भएको थियो।

उत्कृष्ट कार्य सम्पादन गर्ने २ जना प्रहरी कर्मचारीलाई कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले प्रशंसा-पत्र सहित शुभकामना व्यक्त गर्नु भएको छ ।
साथै जिल्ला प्रहरी कार्यालयको आगामी रणनीतिको कार्ययोजनाको विषयमा बताउदै उहाँले जिल्लामा अन्तर-इकाई कार्यसम्पादन प्रतियोगिता र घरदैलो तथा प्रहरी सम्पर्क सूचना सहितको स्टिकर अभियान समेत लागु गर्ने बताउनु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
