पोखरा । नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति लिएको छ । कास्कीमा भने एउटा तुइन बाँकी नै थियो । व्यक्तिगत प्रयोजनका लागि बनाइएको भएपनि त्यहाँ बालबालिका लगायत पनि वारपार गर्ने भएपछि फेसबुकमा फैलियो ।
पोखरा महानगरपालिकाको वडा १७ र २१ बीचको फुस्रे खोलामाथि गण्डकी फर्मले चलाउँदै आएको तुइन अन्ततः शुक्रबार हटाइएको छ । बंगुरका दाना लगायतका सामाग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइएपछि तुइन हटाउन बिहीबार प्रशासनले निर्देशन दिएको थियो ।
मंगलबार तुइनबाट जोखिमपूर्ण रुपमा विद्यार्थी आवतजावत गरेको तस्बिर सार्वजनिक भएसँगै यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो । नेपाल प्रहरीको टोलीले शुक्रबार तुइनमा प्रयोग हुने बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक कोमल शाहका अनुसार झिकिएको तुइन बाकस प्रहरीको नियन्त्रणमा छ । तुइन भएको स्थानबाट चालु अवस्थाकै मोटरेवल स्टिल ब्रिजको दुरी १० मिनेटमा पर्छ ।
तर, फर्मले कृषि प्रयोजनका सामग्री ढुवानी गर्न सहज हुने भन्दै तुइन प्रयोग गर्दै आएको थियो । त्यसै तुइनमा स्कुले विद्यार्थी पनि वारपार गर्ने गर्थे । त्यहीँ मेसोमा सञ्चारमाध्यममा मंगलबार स्कुले ३ विद्यार्थी तुइनबाट तर्दै गरेको तस्बिर सार्वजनिक भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
