दुई कोरियाबीचको सीमा क्षेत्रमा ट्रम्प र किमबीच ऐतिहासिक भेट

काठमाडौँ । दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ।

ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो। आइतबार विहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन। ट्रम्प केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरू सहित असैनिकीकृत क्षेत्र पुगेका थिए।

Advertisement

त्यहाँ स्थानीय समय अनुसार अपरान्हको समयमा दुई नेताबीच छोटो भेट हुँदा आपसमा हात मिलाएका थिए। त्यसपछि दुवै सँगै उभिएर सञ्चारमाध्यम सामु उभिएका थिए। असैनिकीकृत क्षेत्रमा किमलाई भेट गर्दै उत्तर कोरियाली भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बनेका छन्।

डिमिलिटराइज्ड जोन डीएमजी समेत भनिने असैनिकीकृत क्षेत्रमा सम्वाददाताहरूसँग बोल्दै ट्रम्पले भेटको क्षण वास्तवमै ऐतिहासिक भएको बताउँदै उनी दुई कोरियाबीचको सीमा पार गर्न पाउँदा गौरवान्वित भएको बताए।

पत्रकारहरू सामु विरलै बोल्नै गरेका किमले यो भेट ट्रम्प र उनीबीचको गजबको सम्बन्धको संङ्केत भएको बताए। आलोचकहरूले यसलाई विशुद्ध नाटक भनेका छन् तर अन्य केहीको बुझाइमा यो भेटले भविष्यमा थप वार्ता गर्नको लागि बाटो खोलिदिन सक्छ। उनीहरूबीचको यसअघिको भेट फलदायी भएको थिएन।

More News last news
Loading...