महेन्द्रनगर । भीमदत्त नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिएको छ। भीनपा वडा नं १ र ९ बाट शनिबार एक साथ औपचारिक रुपमा कार्यक्रम सुरु गरिएको छ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले ती दुबै वडामा कार्यक्रमको उद्घाटन गरे। यो कार्यक्रम भीनपाका सबै वडामा सञ्चालनका लागि योजना र कामदार छनौट गरिएका छन्। नगर प्रमुख विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सफल र प्रभावकारी बनाउने गरी सञ्चालन गरिएको बताए। ‘यो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी योजना छनौट गरिएको छ, त्यसका आधारमा आज सुरु गरियो’ उनले भने,‘यो कार्यक्रमले नगरको विकासमा टेवा पुग्ने आशा छ।’
नगर प्रमुख विष्टले दुबै ठाउँका उद्घाटन कार्यक्रममा देखिएको उत्साहले समृद्ध नगर बनाउन सहयोग पुग्ने उल्लेख गर्दै सबै वडामा उत्साहजकन रुपमा कार्यक्रम सञ्चालन गरिने बताए। ‘यो उत्साहले नगरको विकासका लागि आम समुदायको एकता देखिएको छ, यो एकता अन्य वडामा पनि हुन्छ’ उनले भने। ती दुबै वडामा प्रधानमन्त्री रोजागर कार्यक्रम अन्र्तगत पदमार्ग निर्माण सुरु गरिएका छन्।

भीनपा वडा नं १ मा बाराकुण्डादेखि विष्णु मन्दिर धामको गोमती कुण्डसम्म पदमार्ग बनाउन लागिएको छ। यो पदमार्ग निर्माणपछि बाराकुण्डाबाट भक्तजन तथा पर्यटकहरुलाई गोमती कुण्डसम्म जान सहज हुने छ। बाराकुण्डाको उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्ट सहित वडा सदस्य माया सार्की, स्थानीय चक्र बहादुर विष्ट, रबिन्द्र कुँबर लगायतका सहभागी भए।
नगर प्रमुख विष्टले रिबन काटेर उद्घाटन गरेपछि फाउराले आफैंले खनेर पदमार्ग निर्माण सुरु गरेका थिए । स्थानीय पदम ढोलीले रोजागर कार्यक्रम राम्रो लागेको बताए । ‘यो कार्यक्रम राम्रो छ, विकास हुन्छ, काम पाईएको छ’ उनले भने।
भीनपा वडा नं ९ मा मटेनादेखि कालिताल झरना पर्यटन मार्ग सुरु गरिएको छ । कार्यक्रममा नगर प्रमुख विष्ट सहित वडा अध्यक्ष राम नाथ, वडा सदस्यहरु रमा पाल, जय बहादुर जोशी लगायतका सहभागी भएका छन्।
वडा अध्यक्ष नाथले पदमार्ग निर्माणले कालिताल झरनालाई पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने बताए। ‘यो बाटो बनेपछि कालिताल जान सहज हुन्छ, यसबाट पर्यटक बढ्छन्’ उनले भने। स्थानीय तह निर्वाचनपछि नगर क्षेत्रका पर्यटकीय स्थल खोजीका क्रममा चुरे क्षेत्रमा कालिताल झरना भेटिएको हो। निलताल समेत चिनिने यस झरनाको प्रचारप्रसारका लागि कार्यक्रम सुरु गरिएका छन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक केशव विष्टले कार्यक्रम अन्र्तगत सबै वडाबाट २५/२५ जना छनौट गरिएको बताए । वडाबाट छनौट योजनाका आधारमा उनीहरुलाई काममा लगाइएको छ । ‘सबै वडामा योजना छनौट र कामदार छनौट गरी कार्यक्रम सुरु गरिएको छ’ उनले भने,‘यसलाई सबै वडामा सुरु गर्छौँ ।’
कार्यक्रम अन्र्तगत छनौट भएर काममा सहभागीलाई दैनिक ५ सय १७ रुपैँया ज्याला तोकिएको छ। सरकारले बेरोजगार लक्षित गरी सुरु गरेको कार्यक्रम अन्र्तगत कामदारले ८ घण्टा मात्रै काम गर्नु पर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
