रिजन नेपाल
पोखरा । पोखरा महानगरपालिकाले आगामी आव २०७६/०७७ को लागि ७ अर्ब ५४ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। मंगलबार भएको पाँचौ नगरसभामा नेपालकै ठूलो क्षेत्रफलको महानगरले आगामी आवको लागि महानगर उपप्रमुख तथा राजश्व परिचालन समिति संयोजक मञ्जुदेवी गुरुङले सो बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
जसअन्तर्गत संघीय सरकारबाट ३ अर्ब ३३ करोड ७८ लाख ८० हजार रुपैंयाँ, गण्डकी प्रदेश सरकारबाट ४७ करोड ९६ लाख ८३ हजार रुपैयाँ र आन्तरिक आयबाट २ अर्ब ५० करोड २९ लाख १७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
नपुग हुने ६८ करोड ५० लाख रुपैयाँ मध्ये वैदेशिक ऋण तथा अनुदानबाट १० करोड, जनसहभागिताबाट ३६ करोड ५० लाख र चालू आर्थिक वर्षमा रहन जाने मौज्दातबाट २२ करोड रुपैंया व्यहोरिने जनाइएको छ।
नेपाल सरकारबाट प्राप्त हुने रकम मध्येबाट वित्तीय समानीकरण अनुदानतर्फ ६० करोड २ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १ अर्ब १७ करोड २७ लाख रुपैयाँ, विशेष अनुदान १५ करोड, समपुरक अनुदानतर्फ १७ करोड ५० लाख, राजस्व बाँडफाँड बापत ४१ करोड ९९ लाख, सामाजिक सुरक्षामा ६० करोड, सडक बोर्डमा ३ करोड, सहरी स्वास्थ्य पूर्वाधारमा ५ करोड, सांसद विकास कोषबाट १२ करोड र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा २ करोड रुपैंया प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ २ करोड १४ लाख ४४ हजार, सर्शत अनुदान२ करोड, विशेष अनुदान १२ करोड, समपुरक अनुदान २० करोड र राजस्व बाँडफाँडतर्फ ३ करोड ८२ लाख ३९ हजार रुपैंया अनुदान प्राप्त हुने अनुमान गरिएको छ।
महानगरले संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्घन, आन्तरिक स्रोतको अधिकतम परिचालन र व्यवस्थापन, आर्थिक, भौतिक र सामाजिक पूर्वाधार विकास, कृषि क्षेत्रको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र स्वास्थ्य, शिक्षा पूर्वाधार विकासमा बजेट विनियोजितको उद्देश्य केन्द्रित गरेको जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
