राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई आक्रमण गर्ने निर्णय फिर्ता लिएलगत्तै अमेरिकाले बिहीबार इरानी अस्त्र प्रणालीमा साइबर हमला गरेको अमेरिकाबाट प्रकाशित समाचारमा जनाइएको छ। अमेरिकी साइबर हमलाले इरानी रकेट तथा क्षेप्यास्त्र नियन्त्रण गर्ने कम्प्युटर प्रणालीलाई निसाना बनाएर तिनलाई विफल तुल्याइदिएको वाशिङ्टन पोस्ट पत्रिकाले जनाएको छ।
अमेरिकी ड्रोनलाई गोली हानी खसाल्ने र अमेरिकी भनाइमा खाडीको जलक्षेत्रमा तेल ट्याङ्कहरूलाई आक्रमण गर्ने इरानी कदमविरुद्ध साइबर आक्रमण गरिएको न्यू योर्क टाइम्स पत्रिकाले जनाएको छ। ती आक्रमणका कारण इरानी अस्त्र प्रणालीमा क्षति पुगे-नपुगेकोबारे स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
आक्रमण किन?
इरानविरुद्ध अमेरिकाले पनि प्रतिबन्धहरू लगाएको र ती “महत्त्वपूर्ण” भएको ट्रम्पको भनाइ छ। इरानलाई परमाणु अस्त्र बनाउनबाट रोक्न ती कदमहरू चालिएको उनको भनाइ छ।
इरान र पश्चिमा शक्तिहरूबीच सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका पछि हटेपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ। अमेरिकाले इरानविरुद्ध प्रतिबन्धहरू लगाइदिएपछि इरानले आर्थिक कठिनाइ खेप्नुपरेको छ।
गत साता इरानले आफ्नो परमाणु अस्त्र कार्यक्रम अघि बढिरहने बताएको थियो। ट्रम्पले चाहिँ आफू इरानसँग युद्ध नचाहने तर कुनै द्वन्द्व भएमा इरानलाई “सखाप पारिने” चेतावनी दिइसकेका छन्।
साइबर आक्रमणले के गरे?
समाचारसूत्रहरूले अमेरिकी सञ्चारमध्यमलाई बताएअनुसार साइबर आक्रमण गर्ने योजना केही साताअघि नै बनाइएका थिए।
ओमानको खाडीमा तेल बोक्ने ट्याङ्कहरूलाई निसाना बनाउँदै आक्रमणहरू भएपछि त्यसो गर्ने सुझाव दिइएको बुझिएको छ। ती आक्रमणले अमेरिकी ड्रोन र खाडीमा ट्याङ्करहरूलाई आक्रमण गर्ने इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोरले प्रयोग गर्ने अस्त्र प्रणालीलाई निसाना बनाएको बताइएको छ।
वाशिङ्टन पोस्ट र एपी समाचार संस्थाले बताएअनुसार साइबर आक्रमणले इरानी कम्प्युटर प्रणालीलाई काम नलाग्ने तुल्याइदिएको छ। न्यू योर्क टाइम्सका अनुसार ती आक्रमणले कम्प्युटर प्रणालीलाई निश्चित अवधिको लागि अफ्लाइन अर्थात् सम्पर्कविहीन तुल्याइदिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
