विप्लव कार्यकर्ता छोड्न उच्च अदालत पोखराको आदेश

पोखरा । एक साताअघि पक्राउ परेका विप्लव नेतृत्वका ९ जना कार्यकर्तालाई उच्च अदालत पोखराले थुनामुक्त गर्न आदेश दिएको छ । यद्यपि थुनामुक्तको आदेश लगत्तै प्रहरीले उनीहरुलाई पुनः पक्राउ गर्ने भएपछि डरले उनीहरु राति अबेरसम्म उच्च अदालत बार एशोसिएसनको भवनभित्र बसेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ११, उरीबाट गत शनिबार पक्राउ परेका १८ जनामध्ये जंगबहादुर भण्डारी (आक्रोश), मिलन राई, काजी गुरुङ, सन्तोष परियार, प्रकाश बास्तोला, आस्था नेपाली, सुजन सापकोटा, राजन साउत, गगन परियारलाई राज्यविरुद्धको कसूरमा थप अनुसन्धानको लागि जिल्ला अदालतले म्याद थप गरेकोमा उच्चमा परेको बदीप्रत्यक्षीकरण रिटमा विहीवार छोड्न आदेश दिएको थियो ।

Advertisement

गैह्रकानूनी तरिकाले पक्राउ गरिएको भन्दै पक्राउ पर्नेमध्येका जंगबहादुर भण्डारीतर्फबाट पृथ्वीराज भण्डारीले गत सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

रिटमाथि मंगलबार प्रारम्भिक सुनुवाइपश्चात न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले उपस्थित गराउन आदेश दिएको थियो । आदेशानुसार विहीवार उच्च अदालतमा उक्त रिटमाथि तेजबहादुर कार्की र सुभाष पौडेलको ईजलाशले उनीहरुलाई छाड्न आदेश दिएको हो ।

निवेदकतर्फबाट वार अध्यक्ष अधिवक्ता रोहितराज बास्तोला, नारायणप्रसाद पौडेल, सन्तोष कोइराला, मीना रानाभाट, हिमलाल पराजुली र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र नरेन्द्रबहादुर चन्दले बहस गरेका थिए ।

उच्च अदालतले थुनामुक्त गर्न आदेश दिए तापनि अदालतको बाह्य र भित्री परिसरमा नै प्रहरीबाट पक्राउ पर्ने डरले उनीहरु राति अबेरसम्म बार एशोसिएसनको भवनमै छन्। बाहिर निस्कन पनि मानेका छैनन् ।

अदालत परिसरमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको छ। प्रहरी सिफ्ट गरी गरी तैनाथ छन्। अदालतले आदेश जारी गरे तापनि प्रहरीले फसाउन खोजको उनीहरुको आरोप छ ।

पक्राउ परेकामध्येका अन्य वसन्त अर्याल, देवी गुरुङ, बलराम परियार, प्रतिमा भण्डारी, सुनिता परियार, प्रमोद सिंह, दीपेन्द्र बुढा, रविन पौडेल र दीपेन्द्र परियारलाई सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप भएको छ ।

More News last news
Loading...