ग्वान्जाउ । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनमा रञ्जिता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन भएको छ।
ग्वान्जाउमा हालै आयोजित कार्यक्रममा एनआरएनए चीनका अध्यक्ष सुदेशकुमार झाले उनलाई मनोनीत गरेको विज्ञप्तिमा उल्लेख छ।
महिला फोरम सदस्यहरूमा सविता बर्तौला, रश्मि झा, मनीषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल छन्। अमृता थापा (कञ्चन) र खुश्बू अग्रवाल सल्लाहकार चुनिएका छन्।
संयोजक आचार्यले ‘युनाइट वुमेन टु ब्रिङ अ चेन्ज’ नारासहित गठन भएको फोरमले चीनमा रहेका नेपाली महिलालाई एकजुट गराई नेपालमा महिला उद्यमको विकाससँगै शिक्षा र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिइन्।
एनआरएनए चीनका अध्यक्ष झाले आफूहरूले नेपाली महिलाको आङ खस्ने समस्या समाधानका क्षेत्रमा पहिलेदेखि काम गर्दै आएको स्मरण गरे।
कार्यक्रममा उपाध्यक्ष प्रदीप न्यौपाने, महासचिव सुशील बेल्वासे, फोरम सल्लाहकार खुश्बू अग्रवाल, विष्णुहरि भण्डारीले पनि बोलेका थिए।
कार्यक्रममा एनआरएन हङकङकी अध्यक्ष टीका गुरुङ, एनआरएन मकाउकी अध्यक्ष शान्तिदेवी अधिकारी एवं ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासबाट रक्षा पोखरेल पनि उपस्थित थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
