चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेकी बालिकाको मृत्यु

शुक्लागण्डकी, तनहुँ । चितुवाको आक्रमणबाट भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। चितुवाले बालिकालाई घरबाटै आक्रमण गरी लगेको र उनको शव घरभन्दा ५०० मिटर पर खरबारीमा फेला परेको थियो।

Advertisement

प्रहरीका अनुसार बालिकाको घाँटीमा चितुवाले चिथोरेको डाम छ भने शरीरका अन्य भागमा कुनै क्षति छैन। चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ।

चितुवाको आक्रमणमा परी मृत्यु भएका उनीहरुलाई यसअघि नै राहतबापतको रु दश लाख प्रदान गरिसकिएको छ । गत माघ महीनामा भानु नगरपालिका-५ चुँदीरम्घा र भानु नगरपालिका–२ शेखाटारमा दुई वटा चितुवा मृतावस्थामा फेला परे पनि पुनः चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्।

More News last news
Loading...