काठमाडौँ । मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत संस्था आफन्त नेपाल (केआइएन) को पहलमा जिल्ला अदालत कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध फरक फरक घटनामा २ वटा मुद्दा दर्ता भएका छन्।
वैदेशिक रोजगारीको लागि ओमन पठाउने तथा भारतमा राम्रो काममा लगाउने भनि ललाईफकाई गरी सीमानाका कटाउने सन्दर्भमा आफन्त नेपालले सुचना सम्प्रेषण तथा परामर्श गर्ने क्रममा कृष्णनगर सीमानाका तथा महेशपुर सीमानाकाबाट उद्धार गरिएको हो।
नाम परिवर्तित कमलालाई प्रतिवादी रीना सार्कीले १ महिना पहिले घरमा बसीरहेको अवस्थामा भारतमा राम्रो कमाउने तथा पढ्न पाउने भनी फकाइ सुनौलीनाका हुँदै भारतको निचलौलस्थित आर्केस्टामा नृत्य गर्नको लागि पुर्याएको र प्रभावितको दाइहरु बहिनीलाई लिन प्रतिवादीसँगै जादै गर्दा आफन्त नेपालले सुचना प्रदान गर्ने क्रममा रहस्य बाहिर आएको र उद्धार गरिएको हो भने अर्का प्रतिवादी पुनम परियार शर्माले प्रभावितलाई जागिरको प्रलोभनमा पारी पासपोर्ट लिई काठमाडौंमा १ हप्तासम्म बन्धक बनाई राखेको र फोन सम्पर्क समेत गर्न नदिई कपिलवस्तु कृष्णनगर नाकामा पुर्याएर झुटो बोल्न लगाइ भारत पुर्याउन लागेको पीडीतले बताएकी छिन्। हाल प्रतिवादी पुनम परियार शर्मालाई प्रहरी हिरासतमा राखि अनुसन्धान भइरहेको छ ।
हाल प्रभावितद्वय आफन्त नेपालको संरक्षणमा रहेको तथा सीप विकास तालिमको लागि चितवनस्थित पुनस्र्थापना केन्द्र,सुरक्षित आवास गृहमा रहेर सीप विकास तालिममा सहभागी हुने जानकारी आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराईले बताउनुभएको छ।
आफन्त नेपालले सन् २०१८ मा ३२ वटा यस्ता मुद्दा दर्ता गराएकोमा २०१९ को हालसम्ममा ९ वटा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्धा दर्ता प्रकृयामा सहयोग गरी प्रभावितलाई न्यायिक प्रकृयामा सहजता प्रदान गर्दै आइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
