विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-११ मा बोक्सा बोक्सीको आरोपमा एक वृद्ध दम्पत्तिमाथि निर्घात कुटपिट भएको छ। बोक्सा बोक्सीको आरोपमा ६० वर्षे वृद्ध र बोक्सीको आरोपमा उनकी श्रीमतीमाथि एउटै परिवारका चार सदस्यले निर्घात कुटपिट गरेका छन्।
लाट्ठी, लात र मुड्कीले निर्घात कुटपिट गर्दा दुबै जना घाइते भएका छन्। घटनापछि दुबैलाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो। तर, नोबेलमा उपचार सम्भव नभएपछि श्रीमतीलाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार सुरु गरिएको छ।
उक्त दम्पत्ति घरमा एक्लै बस्दै आएको थियो। प्रहरीका अनुसार आक्रमणबाट घाइते भएकी वृद्धा मानसिक रुपमा पनि विक्षिप्त बनेकी छन्। वृद्ध–वृद्धामाथि सुन्दरहरैंचा-११ धाती टोल बस्ने ६३ वर्षे टुनका खवास, ३५ वर्षे श्यामलाल खवास, ३१ वर्षे रामकुमार खवास र ३० वर्षे शशिकला खवासले सामूहिक रुपमा आक्रमण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
