बीबीसी । संयुक्त राज्य अमेरिकाको भर्जिनियास्थित एउटा अदालतले बिहीवार राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगीलाई ब्याङ्क ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ।
गत वर्ष अदालतले पल म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ लाख डलर लुकाएको ठहर गरेको थियो।
म्यानफोर्ट सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको निर्वाचन अभियानको संयोजक थिए। अदालतले गैरकानुनी रूपमा गुटबन्दी गरेको अभियोगमा उनलाई अर्को सजाय सुनाउन बाँकी छ।
राष्ट्रपतीय निर्वाचनका बेला ट्रम्प र रुसको सम्बन्धबारे एउटा छानबिन सुरु भएपछि उनीविरुद्ध ती अभियोगहरू लगाइएको थियो।
अदालतमा के भयो?
म्यानफोर्टले दुई करोड ४० लाख डलर क्षतिपूर्ति र ५० हजार डलर जरिवाना तिर्नुपर्ने फैसला अदालतले सुनाएको छ।
बिहीवार साँझ अदालतमा उपस्थित भएका म्यानफोर्टले विगत दुई वर्ष आफ्नो जीवनको सबैभन्दा कठिन समय भएको बताएका थिए।
आफू अपमानित र लज्जित भएको भन्दै उनले न्यायाधीशलाई आफूप्रति सहानुभूति राख्न अनुरोध गरेका थिए। उनले आफ्नो जीवन व्यावसायिक र आर्थिक रूपमा भद्रगोल भएको पनि स्वीकारे।
तर न्यायाधीश टीएस एलिसले म्यानफोर्टले अनुचित गतिविधिमा संलग्न भएर पनि पश्चात्ताप नगरेकोमा आश्चर्य व्यक्त गरे।
उनीमाथि लागेका अन्य १० अभियोगलाई भने अदालतले खारेज गरिदिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
