अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको संख्या दोब्बरले बढ्यो

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको दक्षिणपश्चिम सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको छ। सीमा अधिकारीहरुका अनुसार गत महिना अमेरिका-मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरु ७६ हजारभन्दा बढी देखिएको छ।

गत वर्षको यही महिनाको तुलनामा यो दोब्बर बढी हो। केही महिनादेखि १०० भन्दा बढी मानिसका ७० वटाभन्दा बढी समूह अमेरिका प्रवेश गरेको छ। मेक्सिको-अमेरिका सीमाका अत्यन्त दुर्गम क्षेत्रबाट यी आप्रवासीहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका हुन्।

Advertisement

अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीन्यानले अमेरिकी सीमा सुरक्षा निकायमा अहिले स्रोतसाधनको कमी भएको बताउनुभयो। उहाँले मेक्सिकोसँगको सीमाका दुर्गम ठाउँमा पर्याप्त जनशक्ति परिचालन गर्न नसकिएको र ती ठाउँबाट गैरकानुनी रुपमा मानिसहरु अमेरिका प्रवेश गरिरहेको जानकारी दिनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा व्यवस्थापनलाई कडाई गर्ने प्रतिबद्धता जनाएर सीमामा बलियो पर्खाल बनाउने विवादास्पद योजना अघि सार्नुभएको छ। तर त्यस योजनामाथि अमेरिकी संसद, अदालत र विपक्षीमा सहमति हुन सकेको छैन।

सीमा निगरानी थुनामा दुई बालबालिकाको मृत्यु भएपछि भन्सार तथा सीमा सुरक्षा निकायले स्वास्थ्य जाँचमा कडाई गरेको छ । म्याकअलीन्यानले टेक्सासको एल पासोमा आप्रवासीका लागि नयाँ प्रशोधन केन्द्र खोल्न लागेको जानकारी दिनुभयो। यो केन्द्रमा परिवार र बालबालिकालाई राम्रोसँग हेरचाह गर्न सकिने छ।

सीमा सुरक्षा अधिकारीहरुका अनुसार, हरेक वर्ष अवैधानिक रुपमा अमेरिका प्रवेश गर्न चाहने करिब चार लाख आप्रवासीलाई पक्राउ गरिएको थियो । सन् २००० मा भने १६ लाखलाई सीमामा पक्राउ गरिएको थियो । पक्राउ परेका अधिकांश मानिसहरुमा मेक्सिकोका एकल पुरुष थिए । तर आजभोलि अधिकांश आप्रवासीहरु मध्य–अमेरिकाका परिवारहरु रहेका छन् ।

गत अक्टोबरयता सीमाबाट एक लाख ३० हजारभन्दा बढी परिवारलाई नियन्त्रणमा लिइएको छ । अक्टोबरदेखि सेप्टेम्बर २०१८ सम्मको अवधिमा पति त्यतिकै संख्यामा परिवारलाई नियन्त्रणमा लिइएको थियो । दशौं हजार बालबालिका एक्लै अवैध रुपमा अमेरिका छिरेका छन्।

भन्सार तथा सीमा नियन्त्रण निकायले पछिल्लो समय आप्रवासीमाथि कमभन्दा कम बल प्रयोग गर्न थालेको जनाएको छ। सन् २०१८ मा १५ पटक मात्र सुरक्षा बलले हतियार चलाएको छ । सन् २०१२ मा ५५ पटक हतियार प्रयोग भएको थियो।

More News last news
Loading...