विजय नेपाल
पोखरा । हेलिकोप्टर दुर्घटनामा परी अकल्पनीयरुपमा निधन भएका मन्त्री रवीन्द्र अधिकारीको राजकीय सम्मानका अन्त्येष्टि भएको छ।

उनको शव शुक्रबार मध्यान्ह सेनाको विमानमार्फत गृहजिल्ला कास्की ल्याइएको थियो । शवयात्रासहित सेती नदी किनारमा राजकीय सम्मानका लागि अन्त्येष्टि भयो । शवमा जेठा छोरा विराजले दागबत्ति दिए । साथै नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो ।

अधिकारीलाई श्रञ्द्धाजली दिन सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे ।

साथै, मन्त्री गोकर्ण विष्ट, नेकपाका नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, योगेश भट्टराई लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, सांसद सूर्यबहादुर केसी, प्रदेशका मन्त्रीहरु, सांसदहरु पनि श्रद्धाञ्जली दिन प्रदर्शनी केन्द्र पुगेका थिए । उनलाई बिदाइ गर्न गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट मानिसहरु पोखरा आएका थिए ।

अधिकारीको अन्त्येष्टि अघि दिउँसो साढे ३ बजेपछि निकालिएको शवयात्रा पोखरा प्रदर्शनी केन्द्रदेखि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोकहुँदै रामघाट पुगेको थियो । अन्त्येष्टिमा उपस्थित हजारौंले श्रद्धाञ्जली अर्पण गर्दै अन्तिम बिदाइ गरे ।

यसैबीच, मन्त्री अधिकारीको काजक्रिया १३ दिनबाट घटाएर सात दिनमै टुंगाउने तयारी भएको छ । नयाँबजारमा श्रद्धाञ्जली अर्पण गर्दै नेकपा नेतासमेत रहेका अधिकारीका बालसखा धनराज आचार्यले परिवारका सदस्यसँगको कुराकानी आधारमा ७ दिनमै मृत्यु संस्कार टुंगाउने जानकारी गराएका थिए।

मन्त्री अधिकारी मृत्यु संस्कार घटाएर सात दिनमा झार्नुपर्छ भन्ने अभियान्ता भएका कारण ७ दिनमै मृत्युको संस्कार सकिने गरी फागुन २१ मा अन्तिम संस्कार सकिने आचार्यले दिए। मृत्यु संस्कार पोखरा–५ मालेपाटनस्थित घरमा हुनेछ।

मृत्यु संस्कार घटाउने अभियान चलाएका अधिकारीले विगतमा संस्कृति मन्त्रालयमार्फत समिति नै गठन गरेका थिए। काजक्रियाको दिन घटाउने निर्णयको भने कतिपयले बिरोध जनाएका छन् । डम्मरु बाबा भनेर चिनिने एक व्यक्तिले प्रदर्शनी केन्द्रमा सो निर्णयको विरोध गर्दै
नारा नै लगाएका थिए।












तस्बिर : विजय नेपाल/नयाँ पुस्ता
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
