काठमाडौँ । कश्मीरको विषयले गर्दा विगत सात दशकदेखि विवादमा फसेका भारत र पाकिस्तानबीच फेरि तनाव बढेको छ।
यही बेला भूतपूर्व भारतीय गोर्खा सैनिकहरूले दुवै देशलाई ‘युद्धमा नजान’ आग्रह गरेका छन्। भारतीय सेनामा रहेर विभिन्न युद्धमा समेत सामेल भएका ती नेपाली नागरिकहरूले दुवै देशले अहिलेको समस्या वार्ताबाट समाधान गर्नुपर्ने सुझाव दिएका हुन्।
उनीहरूका अनुसार ‘जुनसुकै युद्ध समाप्त गर्नका लागि पनि अन्तिममा सम्झौता हुने’ भएकाले भारत र पाकिस्तान दुवैले संयम अपनाउनु उचित हुन्छ। ब्रिटेनको उपनिवेशबाट भारत स्वतन्त्र भएपश्चात्को एउटा त्रिपक्षीय सन्धिअन्तर्गत नेपाली नागरिकहरू भारतीय सेनामा भर्ना हुने गरेका छन्।
‘अन्त्यमा वार्ता नै गर्नुपर्छ’
सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा सामेल भारतीय सेनाका एक जना अवकाशप्राप्त हवल्दार लक्ष्मीकान्त पाण्डे युद्धले मानव सभ्यतालाई नै नोक्सान पुर्याउने ठान्छन्।
उनी भन्छन्, ‘युद्ध कतै पनि जाति हुँदैन। नेपाली, भारतीय, पाकिस्तानी वा चिनियाँ जो मरे पनि मर्ने मान्छे नै हुन्।’ सन् १९७१ मा तात्कालीन पूर्वी पाकिस्तान अर्थात् हालको बाङ्ग्लादेशमा लडाइँमा जाँदा घाइते समेत भएका उनी युद्ध हुने वातावरण आउन नदिने राष्ट्रप्रमुखहरूले सोच्नुपर्ने बताउँछन्।
उनले भने, ‘दुईचार हजार मान्छे मारे पनि पछि समस्या समाधान गर्नका लागि वार्ता गर्नै पर्छ बरु सुरुमै राष्ट्रप्रमुखहरूले विचार पुर्याउनुपर्छ।’ युद्धले सबैभन्दा धेरै असर सर्वसाधारणलाई गर्ने भएकाले कुनै पनि मुलुकले त्यसबाट खासै केही हासिल गर्न नसक्ने उनको तर्क छ।
सेनाबाट निवृत्त भएपछि आफूले वैकल्पिक चिकित्सामा विद्यावारिधि गरेको बताउने उनी भन्छन्, ‘राष्ट्र प्रमुखहरूले आफ्नो इगो साँध्न युद्ध गराउँछन् तर उनीहरू आरामले गद्दीमा बसेका हुन्छन्। दुस्ख पाउने सर्वसाधारणले हो।’
‘युद्धमा कसैको जित हुँदैन’
सन् १९९९ मा कश्मीरस्थित कार्गिलमा भएको लडाइँलाई प्रत्यक्ष देखेका भारतीय सेनाका एकजना भूतपूर्व सुवेदार भेषशङ्कर पुरी भन्छन्, ‘युद्ध भएमा दुवै पक्षमा हताहत हुन्छ। एक पक्षको मात्र नोक्सान हुने होइन। कुनै पक्षलाई राम्रो हुँदैन त्यसैले युद्ध नहोस् भन्ने कामना गर्छु।’
उनले आफू मानवीय हिसाबले युद्धको विपक्षमा उभिएको तर्क गरे। पुरीले भने, ‘म फौजी भएको नाताले डराएर होइन मानवीय हिसाबले दुवै देशलाई युद्ध नगर्न आग्रह गर्छु।’
कार्गिलको लडाइँका बेला उनी लद्दाखको लेहस्थित भारतीय सेनाको ‘रिजर्भ फोर्स’मा रहेर काम गरेका थिए। कार्गिल पठाइएको तीनवटा बटालियनले लडाइँ जारी राख्न नसके उनीहरूलाई पठाउनेगरी तयारी अवस्थामा राखिएको थियो।
तर उनी कार्गिलको लडाइँमा सामेल नै भने हुनुपरेन।
यद्यपि घाइतेको उद्धार र उनीहरूको बन्दोबस्त मिलाउने काम भने गरेको अनुभव उनी सुनाउँछन्। तीस वर्षको सैनिक सेवामा उनले सात वर्ष कश्मीरमा बिताएका थिए। पुरी भन्छन्, ‘युद्धमा कसैको जित हुँदैन। सबैलाई घाटा नै हुने हो त्यसैले युद्ध नगर्नु नै राम्रो हो।’
‘युद्ध समाधान होइन’
भारत प्रशासित कश्मीरमा सशस्त्र समूहहरूको प्रभाव बढेका बखत १२ वर्षसम्म त्यसै क्षेत्रमा खटिएका अर्का भूतपूर्व भारतीय गोर्खा सैनिक किशोरकुमार राई पनि भारत र पाकिस्तानलाई संयमित रहन आग्रह गर्छन्। सन् १९९२ देखि २००४ सम्म कश्मीरका विभिन्न क्षेत्रमा रहेर काम गरेका उनले भारतीय सेनामा ३० वर्ष काम गरेका थिए।
भारतीय सेनाको सुवेदार मेजर भएर अवकाश पाएका उनी भन्छन्, ‘देशहरूबीच झैझगडा पर्यो भने एक आपसमा सम्झौता गरेर त्यसलाई सुल्झाउने काम गर्नुपर्छ। युद्ध गरेर समाधान हुँदैन।’
राई भारत र पाकिस्तानलाई शान्ति कायम गर्न आग्रह गर्छन्। राईले भने, ‘हामीले त आफ्नै अगाडि कति साथीहरू हताहत भएको देखियो। बमले गाडी उडाएको भेटियो। अब अरूले त्यस्तो बेहोर्नु नपरोस्। युद्धले सैनिकलाई मात्र होइन सर्वसाधारणलाई पनि दुस्ख दिन्छ।’
यही फागुन २ गते भारत प्रशासित कश्मीरको पुलवामामा भएको एउटा आत्मघाती आक्रमणमा ४० जनाभन्दा बढी भारतीय सुरक्षाकर्मी मारिएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएको हो।
भारतले उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप लगाएको छ भने पाकिस्तानले त्यसको खण्डन गर्दै आएको छ।
मङ्गलवार भारतले पाकिस्तानी भूभागमा उसकै शब्दमा ‘एउटा गैरसैनिक हवाई कारबाही’ गरेको र बुधवार पाकिस्तानले ‘भारतका दुईवटा लडाकु विमान खसालिदिएको’ भनिएको घटनापछि उनीहरूबीच तनाव झन् बढेको देखिएको छ। बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
