प्रकाश डोटेल/स्याङ्जा
स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रुप अन्र्तगत संचालित फार्मले ब्याट्री केज (जर्मन प्रबिधि) मा अण्डा उत्पादन गर्दै आएको हो ।
५०÷५० हजार क्षमताका ४ वटा वातावरणीय अनूकुलन (ईसि हाउस) बाट अण्डा उत्पादन हुदै आएको छ । उत्पादन क्षमता बढाउन फार्मले थप एक ईसि हाउस निर्माण गर्न थालेको छ । फार्मबाट उत्पादीत अण्डा गण्डकी र ५ नंम्बर प्रदेशलाई आधार बनाएर बजारीकरण गरिएको छ । सोहि फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्न थालेपछि स्याङ्जा अण्डामा आत्मनिर्भर बनेको छ ।
“करिब ५० रोपनी जग्गामा झण्डै ७० करोडको लागतमा फार्म निर्माण गरिएको हो ।” फार्मका प्रबन्ध निर्देशक शोभाकान्त ढकालले भने, “विषेशगरी लेयर्स प्रजातिको कुखुराबाट अण्डा उत्पादन गर्ने फार्म नेपालकै ठूलो हो ।” फार्ममा अत्याधुनिक प्रविधिको प्रयोग गरेर अण्डा उत्पादन गरिएको ढकालले जानकारी दिए ।
फार्मले प्रत्यक्ष ८० र अप्रत्यक्ष सयौ कामदार र व्यवसायीक पसललाई रोजगारी दिएको छ । स्याङ्जामा उत्पादीत अण्डा स्थानीय बजार, पोखरा, पर्वत, बागलुङ्, म्याग्दी, मनाङ्, मुस्ताङ्, पाल्पा, गुल्मी र अर्घाखाचीमा निकासी हुदै आएको फार्मले जनाएको छ ।
पछिल्लो समय कुखुरा पालनमा आवश्यक ज्ञानसिप अभाबमा जथाभावि लगानी गर्दा अण्डाको बजारीकरणमा समस्या देखिएको फार्मले जनाएको छ ।
केके एग्रो ग्रुपले अण्डाका अलवा फार्मबाट निकासी हुने कच्चा पदार्थ (सुली) र स्थानीय स्तरमा संकलित कच्चा पदार्थ (गाई, भैसीको गोबर) मिलाएर स्याङ्जाकै पुतलीबजार नगरपालिका ४ नागडाडामा बायोग्यास प्लान्ट समेत संचालनमा ल्याएको छ । झण्डै २० रोपनी जग्गामा करिब ३० करोडको लागतमा प्लान्ट संचालनमा आएको हो । 
३ हजार ५ सय १० घनमिटरको बायोग्यास पावर प्लान्टबाट दैनिक ३ सय ५० किलोवाट क्षमताको विद्युत, खान पकाउन प्रयोग हुने ग्यास र नेपालको कृषि नीतिले तोकेको मापदण्ड अनुसार १२ टन अर्गानिक धुले र दाना गरि दुई किसिमका मल उत्पादन गर्दै आएको छ ।
“प्लान्टमा उत्पादीत विद्युतलाई आन्तरिक रुपमै खपत गरिएको छ ।” फार्मका प्रमुख कार्यकारी अधिकृत राजेश ढकालले भने, “ग्यासलाई बोटलिङ् गर्न लागिएको छ भने मललाई स्थानीय बजारमा बिक्री गर्ने तयारी गरिएको छ ।” उत्पादीत मलको बजारीकरणमा समस्या रहेको उनले सुनाए ।
नेपालमा वर्षेनी करोडौंको रासानिक मल आयात हुँदा समेत कृषकले मल नपाउने गरेकोे अवस्था रहेको अधिकृत ढकालले बताए । अर्गानिक मल उत्पादकको लगानी सुनिश्चित गर्न र प्रयोग बढाउने तर्फ सरकारले चासो देखाउन उनले आग्रह गरे । उनले सरकारसँग विषादीको प्रयोगमा कमि ल्याउने अभियान प्रभाबकारी बनाउन जोडदार माग गरेका छन् ।
केके एग्रो ग्रुपले पूर्वका प्रदेश नं. १, २ र ३ लाई लक्षित गरि धनुषामा २ अर्बको लगानीमा दैनिक ५ लाख अण्डा उत्पादन गर्ने फार्म निर्माण गर्न लागेको छ । फार्म स्थापना गर्न १ सय ५६ रोपनी जग्गा खरिद गरेर निर्माणको प्रक्रिया अगाडी बढाएको निर्देशक ढकालले जानकारी दिए । निर्माणको तयारी गरिएका फार्ममा जर्मनी, चाईनिज र कोरियन प्रविधिको प्रयोग गरिने उनले बताए ।
ग्रुप अन्र्तगत दैनिक १० लाख अण्डा उत्पादन गर्ने उद्देश्यले पश्चिमका प्रदेश नं. ६ र कर्णाली प्रदेशलाई आधार बनाएर कैलालीमा ३ लाख अण्डा उत्पादन गर्ने फार्म निर्माण गर्न आन्तरिक तयारी तिव्र पारिएको छ । ग्रुपले लेयर्स कुखुराको अण्डा उत्पादन गर्न २ वर्ष भित्र झण्डै ५ अर्ब लगानी गर्ने योजना अगाडी सारेको छ ।
ग्रुपले स्याङ्जाको गल्याङ् नगरपालिका १ स्थित राम्दीमा दैनिक ४ सय मेट्रिकटन खुकुरालाई खुवाउने दाना उद्योग स्थापना गर्ने तयारी गरेको थियो । २ वर्षदेखि शुरु गरिएको तयारी स्थानीय सरकार र सरकारको लब्बेतान औद्योगिक नीति नियमका कारण उद्योग स्थापना हुन सकेको छैन् । स्थानीय सकारको आवश्यक सहयोग र उद्योग मन्त्रालयले चासो दिएमा एक वर्षमै उद्योग संचालनमा ल्याउन सकिने एग्रो ग्रुपले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
