भेनेजुएला संकट : पैसाको अभाव धान्न ढुकुटीको सुन बेच्दै सरकार

बीबीसी । भेनेजुएलाको सरकारले ढुकुटीको सुन बेचेर भएपनि आवश्यक रकमको जोहो गरिरहेको नयाँ प्रमाणहरू फेला परिरहेका छन्।

भेनेजुएलाले देशलाई आवश्यक रकम जुटाउन र आफ्नो अर्थतन्त्रलाई स्थिर राख्न आफ्नो स्रोतहरूको बिक्री गर्न थालेका प्रमाणहरू बाहिर आइरहेका छन्।

Advertisement

त्यसक्रममा उसले आफ्नो ढुकुटीको सुन बेचिरहेको थप प्रमाण फेला परेको छ। यूएईको आबु धाबी स्थित लगानी कम्पनी नुर क्यापिटलले गत साता मात्रै भेनेजुएलाको केन्द्रीय ब्याङ्कसँग तीन टन सुन किनेको स्वीकार गरेको छ।

रोएटर्स समाचार संस्थाले हेरेको एक वक्तव्यमा नुर क्यापिटलले अब भविष्यमा भेनेजुएलासँग थप कारोबार नगर्ने बताएको छ। नुर क्यापिटल र अन्य फर्महरूलाई अमेरिकाले भेनेजुएलाको सुन नकिन्न चेतावनी दिइरहेको छ किनभने अमेरिकाले आर्थिक प्रतिबन्धहरू लगाएर निकोलस मदुरोलाई सत्ताबाट हटाउन चाहन्छ।

रोएटर्स समाचार संस्थाका अनुसार गत साता एक सानो कार्गो विमान भेनेजुएलाको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन टन सुन बोकेर उडेको थियो।

बीबीसीकी क्यान्डस पिएट् भन्छिन्, रुसी विमानहरू पनि त्यो विमानस्थलमा आउजाउ गरिरहेको हल्ला छ। तर रुसले त्यो असत्य भएको बताउँछ। स्पष्ट रूपमा निकोलस मदुरो सरकार अहिले आर्थिक दबाबमा परिरहेको छ।

भेनेजुएलाको सुन खानीबाट अवैध रूपमा सुन निकाल्ने काम भइरहेको भन्दै चिन्ताहरू व्यक्त हुने गरेका छन्। भेनेजुएलाका विपक्षी नेता हुवान गुआइदोले भने भेनेजुएलाका सम्पत्तिको सुरक्षा गर्न विभिन्न उपायहरू अपनाउनु पर्नेमा जोड दिइरहेका छन्।

जानकारी अनुसार टर्कीले पनि भेनेजुएलाको सुन किनिरहेको छ।भेनेजुएलाको सुन टर्की हुँदै इरान पुग्ने गरेको छ, त्यसो भएमा अमेरिकी प्रतिबन्धहरूको उल्लङ्घन हुन जान्छ। त्यसैले टर्कीमाथि अहिले सुन नकिन्न दबाव बढिरहेको छ।

टर्कीका राष्ट्रपति रिजेप तायिप एर्दोआनले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई दह्रो समर्थन गरिरहेका छन्। मदुरो आफैँ चौतर्फी राजनीतिक दबाब भोग्दैछन्। टर्की र भेनेजुएलाबीचको सुन व्यापार निरन्तर बढिरहेको छ।

More News last news
Loading...