बीबीसी । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले केही अरू मुलुकले जस्तो अन्तरिक्षमा परीक्षणका लागि जनावर नभइ रोबोट पठाउने जनाएको छ।
सन् २०२१ को अन्त्यसम्म मानवलाई अन्तरिक्षमा पठाउने भारतको योजना छ। त्यसअघि परीक्षणका लागि उसले जनावरको सट्टा मानव रोबोट पठाउन खोजिरहेको छ।
इसरोका प्रमुख के शिवनले बीबीसीलाई भने, अन्तरिक्षमा हुने जटिल परीक्षणमा कमजोर प्राणीको प्रयोग गर्ने हाम्रो कुनै योजना छैन। गगनयान अभियान अन्तर्गत भारतीयलाई अन्तरिक्षमा पठाउने योजनामाथि काम भइरहेको भारत सरकार र इसरोले स्पष्ट पारिसकेका छन्।
अमेरिका, रुस र चीन जस्ता देशले अन्तरिक्षमा मानव पठाउनुअघि जनावरलाई पठाएर परीक्षण गरिसकेको पृष्ठभूमिमा भारतले चाहिँ तिनीहरूको अनुसरण किन गर्न नचाहेको होला ?
जवाफमा इसरो प्रमुख के शिवनले भने, भारतले सही कदम चालिरहेको छ। अमेरिका र रुसले जनावर पठाएका बेला अहिलेका अत्याधुनिक प्रविधि थिएनन्।
त्यतिबेला मानव रोबोटको पनि विकास भइसकेको थिएन, जसकारण ती मुलुकले परीक्षणका लागि अन्तरिक्षमा जनावर पठाए। तर अहिले त्यस्तो अवस्था छैन।
भारतको गगनयान अभियान शुरू हुनुअघि इसरोले दुईवटा परीक्षण गर्नुपर्नेछ। तर जानकारहरूका अनुसार भारतीय प्रयोग खतरनाक पनि हुनसक्छ किनकि जीवित प्राणी र रोबोट समान हुन सक्दैनन्।
विज्ञान मामिलाका एकजना जानकार पल्लव बागलाका अनुसार यदि गगनगान अभियान अन्तर्गत इसरोले सिधै मानवलाई अन्तरिक्षमा पठाउन चाहयो भने त्यसअघिकै दुईवटा उडानका लागि उसलाई लाइफ-सपोर्ट सिस्टमु को आवश्यकता पर्नेछ।
इसरोका अनुसार गगनयान अभियानका लागि आवश्यक तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ र यो वर्षको अन्त्यसम्म अन्तरिक्षयात्री चयन गरिसकिनेछ।
सरकारी आँकडाका अनुसार भारतको यो महत्त्वाकाङ्क्षी अभियानमा १० हजार करोड भारु खर्च हुनेछ। सन् २०१८ मा भारतीय स्वतन्त्रता दिवसका अवसरमा दिल्लीस्थित लालकिलामा दिएको भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदी सो अभियानको घोषणा गरेका थिए।
विज्ञान तथा प्रविधि मन्त्रालयका केही उच्च अधिकारीहरूका अनुसार सो अभियानमा कुनै प्रकारको अड्चन नआओस् भनेर इसरो र मन्त्रालय दुवैमाथि ठूलो दबाब छ।
इसरो प्रमुख के शिवन भन्छन्, पहिलो मानवरहित यान सन् २०२० को डिसेम्बरसम्म र दोस्रो सन् २०२१ को जुलाइसम्म पठाउने योजना छ। मानवसहितको पहिलो भारतीय अन्तरिक्षयान चाहिँ सन् २०२१ को डिसेम्बरसम्ममा पठाउनेछौँ।
यो अभियान सफल भएमा अन्तरिक्षमा मानव पठाउने भारत विश्वको चौथो मुलुक बन्नेछ। सबैभन्दा पहिला तत्कालीन सोभियत सङ्घले र त्यसपछि अमेरिकाले मानवसहितको अन्तरिक्षयान पठाएका थिए।
ती दुई देशले अन्तरिक्षमा मानव पठाउनुअघि परीक्षणका लागि जनावर पठाएका थिए र त्यो सफल भएपछि मात्रै मान्छे पठाए। पल्लव बागलाका अनुसार अधिकांश मुलुकहरू अन्तरिक्ष अभियानलाई गोप्य राख्ने गर्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
