गोविन्द मरासिनी/काठमाडौं । स्याङ्जा जिल्लाको समग्र पक्षलाई समेटेर ‘आई लभ यू स्याङजा, वि लभ यू स्याङ्जा’ गीत सार्बजनिक गरिएको छ । स्याङजाका चर्चित गायक लोकनाथ सापकोटाले उक्त गीतको सृजना गरेका हुन् ।
गीतको लेखन, निर्देशन, संगीत तथा परिकल्पना र आवाज सापकोटा स्वयमको रहेको छ भने उनलाई तारा श्रीस मगरले साथ दिएकी छिन् । गीतले स्याङजा जिल्लाको धार्मिक, पर्यटन एवं औधोगिक सहित सबै पक्षलाई समेटेको छ । जिल्लामा रहेका विभिन्न ऐतिहासिक एवं धार्मिक पक्षका बारेमा देश सहित विदेशमा समेत जानकारी दिने उद्देश्यले गीतको सिर्जना गरिएको र स्याङ्जा जिल्ला हरेक किसिमले वास्तवमै सुन्दर र राम्रो भएको सन्देश दिन खोजिएको गीतका सर्जक सापकोटाले बताए ।
गीतको भिडियोमा स्याङजाका सुन्दर स्थानहरु चण्डी भन्ज्याङ, चित्रे भन्ज्याङ, पञ्चासे, बाँगे, बाङसिङ, चापाकोट, सतौ कोट, भिरकोट, बहाकोट एवं प्रशिद्ध धार्मिक स्थलहरु पञ्चासे धाम, छाङछाङ्दी, राम्दी, आलाम देवी, सेतीबेनी, कालीगण्डकी, चण्डीकालिका र पर्यटकीय स्थलहरु दरौं सिरुवारी, स्वरेक मैदान, सिरकोट, बहाकोट, भालु पहाड लगायतका स्थानहरु देख्न पाईन्छ ।
देशको राजनीतिक अवस्थामा उल्लेखनीय प्रगति र सुधार नआईरहेका बेला आफूले सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई एउटै म्यूजिक भिडियोमा अटाएर स्याङ्जामा राजनीतिक एकता सकारात्मक भएको भन्ने सन्देश पनि गीतले दिने सापकोटाको दाबी छ । गीतमा स्याङ्जा जिल्लाबाट देशका उच्च स्थानमा पुगेका विभिन्न व्यक्तिहरु, चर्चित कलाकारहरु, राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तासहित करिब २ हजार भन्दा वढी स्याङ्जालीहरुको अभिनय रहेको छ ।
गीतको सार्वजनिक कार्यक्रममा उपस्थित अतिथीहरुले स्याङ्जा जिल्लालाई देश सहित विदेशमा चिनाउन गीतले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै रचनाकार सापकोटालाई धन्यवाद सहित शुभकामना दिएका थिए ।
रिकेश भण्डारीले सम्पादन गरेको उक्त गीतको छायाकन टंक केसी, श्री गुरु र गिरधारी पोखरेलले गरेका हुन् ।
भिडियो हेर्नुहोस्, स्याङ्जा चिन्नुहोस् :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
