बीबीसी । अमेरिकी सेनाले पाकिस्तानलाई दिइने ३० करोड डलरको मद्धत रद्द गरिएको जानकारी दिएको छ। पाकिस्तानले चरमपन्थी समूहविरुद्ध कारवाही गर्न विफल भएको भन्दै यस्तो निर्णय लिइएको अमेरिकी सेनाले बताएको छ।
रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नल कोनी फाकनरले अमेरिकी रक्षा विभागले अब आवश्यक प्राथमिकतामा उक्त रकमको प्रयोग गरिने जानकारी दिएका छन्।
ट्रम्प प्रशासनले पाकिस्तानलाई छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो १७ वर्षदेखि हमला गर्दै आएका चरमपन्थीहरुलाई आश्रय दिइरहेको आरोप लगाउँदै आएको छ । यद्यपी, पाकिस्तानले यी आरोपको खण्डन गर्दै आइरहेको छ ।
अमेरिकी अधिकारीले पाकिस्तानले आफ्नो रवैया परिवर्तन गरे मात्र अमेरिकाको समर्थन पुनः हासिल गर्न सक्ने बताएको छ।
यसअघि अमेरिकाले यसै वर्षको सुरुवातमा पाकिस्तानलाई ५० करोड डलरको आर्थिक मद्धत रद्द गरेको थियो ।
यद्यपी, रक्षा मन्त्रालयको यो निर्णय अहिले अमेरिकी संसदको स्विकृती पाउन बाँकी छ ।
ट्रम्पको झट्काः
त्यतिबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ वर्षको पहिलो दिन गरेको एक ट्वीटमा पाकिस्तानमाथि झुटो बोलेको र चरमपन्थीहरुलाई आश्रय दिएको आरोप लगाएका थिए । अमेरिकासँग अर्बौं डलरको मद्धत लिँदासमेत पाकिस्तानले चरमपन्थीहरुलाई पालिरहेको बताएका थिए ।
उनले भनेका थिए, ‘अमेरिकाले पछिल्लो १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलरभन्दा बढीको मद्धत गर्यो तर पाकिस्तानले यसको बदलामा झुट र छलबाहेक केही पनि दिएन । उसले सोच्छ कि अमेरिकी नेता मुर्ख छन् । हामी अफगानिस्तानमा जुन आतंकवादीहरुको खोजी गरिरहेका छौं, पाकिस्तानले उनीहरुलाई नै आश्रय दिइरहेको छ । अब त्यस्तो हुनेछैन ।’
अमेरिकी रक्षामन्त्रालयका प्रवक्त लेफ्टिनेन्ट कोनी फकनरले भने, ‘दक्षिण एशियाका लागि अमेरिकाको सैन्य रणनीतिमा सहयोग नगरेका कारण पाकिस्तानलाई बाँकी भएको ३० करोड डलरको सहायता रद्द गरिएको छ ।’
अमेरिकाको यो कदमले पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानको समस्या बढ्नेछ । इमरान खानले अघिल्लो महिनामात्रै पाकिस्तानको कमाल सम्हालेका छन् र आर्थिक मोर्चामा उनी जुध्नु परिरहेको छ।
पाकिस्तानको विदेशी मुद्रा भण्डार लगातार घटिरहेको छ । सन् २०१७ मे मा पाकिस्तानको विदेशी मुद्रा भण्डार १६.४ अर्ब डलर थियो भने अब त्यो १० अर्ब डलर मुनी पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
