कपिलवस्तु : जिल्ला वन कार्यालयले ३० हेक्टर भन्दाबढी वन क्षेत्र अतिक्रमण खाली गराएको छ ।
जिल्लाका विभिन्न वन क्षेत्र मध्ये कपिलवस्तु साझेदारी वन क्षेत्रको चन्द्रौटा बजार किनारमा ५ हेक्टर, शिवराज ३ मदवा र गिधौरा गाउँ नजिक १७ हेक्टर, राजपुरस्थित गौतम वुद्ध सामुदायिक वन क्षेत्रमा ११ हेक्टर अतिक्रमण भएको क्षेत्र खाली गराइएको जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।
यस्तै, मायादेवी साझेदारी वन व्यवस्थापन समिति अन्तर्गत पटना क्षेत्रमा करिब १७ हेक्टर वन क्षेत्र अतिक्रमण हटाउने कार्य अन्तिम चरणमा पुगेको समितिका संयोजक अजिज खांले बताउनुभयो । चालु आर्थिक वर्षमा ४० हेक्टर अतिक्रमित क्षेत्र हटाउने कार्यालयको वार्षिक कार्यक्रमको लक्ष्य भए पनि त्यस लक्ष्यलाई पूरा गरी ७० हेक्टर भन्दाबढी क्षेत्रफलमा अतिक्रमण हटाउने जिल्ला वन अधिकृत भट्टले दाबी गर्नुभयो ।
अतिक्रमण हटाइएको क्षेत्रमा तारबार, वृृक्षारोपण र संरक्षण गरी वन क्षेत्र बढाउने अभियानमा आफूहरु जुटेका छौं’, जिल्ला वन अधिकृत भट्ट भन्नुभयो, ‘वन ऐन नियम अनुसार वन क्षेत्रको संरक्षण गर्नु आफूहरुको प्रमुख दायित्व भएका कारण कहीँ कतैबाट कुनै पनि बाहानामा वन क्षेत्र अतिक्रमण गर्न खोजे हामी चुप लागेर बस्न सक्दैनौं ।’
अतिक्रण हटाउन स्थानीय प्रहरी प्रशासन सबै क्षेत्रबाट सहयोग प्राप्त भएको जिल्ला वन कार्यालयले जनाएको छ । जिल्लामा कुल ५७ हजार हेक्टर वन क्षेत्र रहेको छ । त्यसमध्ये ११ हजार ३ सय ५० हेक्टर वन क्षेत्र अतिक्रणको चपेटामा परेको सहायक वन अधिकृत मदन मोहन शाण्डिल्यले बताउनुभयो ।
कपिलवस्तुमा पटना क्षेत्र र पश्चिम जवाबैराठ क्षेत्रमा अधिक मात्रामा वन अतिक्रण हुने गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
