ग्रामीण स्वावलम्बन सहकारीद्धारा २० प्रतिशत नाफा वृद्धि

स्याङ्जाको ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि.ले आर्थिक वर्ष २०८२/८३ मा ८२ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । ८२ लाख खुदनाफा आर्जन गर्न सफल भएको सहकारीले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २० प्रतिशत नाफा वृद्धि गरेको हो ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा संचालित सहकारीले खुदनाफामा २० प्रतिशत वृद्धि गर्दै ८२ लाख आर्जन गर्दा अघिल्लो वर्ष ६५ लाख रुपैयाँ मात्रै खुदनाफा गरेको थियो । ऋण असुलीदरमा समेत उत्कृष्ट उपलब्धी हासिल गरेको सहकारीले कुल लगानीको झण्डै ९९ प्रतिशत ब्याज र किस्ता असुली गरेको जनाएको छ ।

Advertisement

झण्डै ३५ करोड बराबरको आर्थिक कारोबार गरेको सहकारीले १७ करोड ५० लाख बचत संकलन गर्दै २७ करोड ५० करोड कर्जा लगानी गरेको जनाएको छ । दुई करोड भन्दा बढी शेयर पुँजी रहेको सहकारीले ८ करोड ५० लाख सहुलियत कर्जा ल्याएर चार हजार ५ सय ४६ सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको सहकारीका प्रबन्धक शालिग्राम काफ्‌लेले जानकारी दिए ।

बचत कारोबारसँगै कृषिजन्य उत्पादनमा गाउँपालिकामै उत्कृष्टता हासिल गरी अगुवाई गर्दै आएको सहकारीको जगेडा कोषमा तीन करोड १५ लाख र जोखिम कोषमा एक करोड ५० लाख रुपैयाँ रहेको छ । अर्जुनचौपारी गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडामा सेवा प्रवाह गरेको सहकारीको दुई करोड बराबरको अन्य कोषहरु रहेको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा हरेक गतिविधिमा उपलब्धी हासिल गरेको सहकारीले शेयर सदस्यको आयआर्जन केन्द्रित नयाँ माध्यमको खोजीसँगै सहकारीको सेवालाई गाउँपालिका भरी कार्यक्षेत्र विस्तार गर्ने रणनीति लिएको जनाएको छ । नगदेबाली, मासु, तरकारी र दुग्धजन्य उत्पादनमा स्थानीय कृषकहरु आत्मनिर्भर उन्मुख बनाउँदै लगेको सहकारीका अध्यक्ष बोधनारायण रेग्मीले जानकारी दिए ।

२१० समूह र १० वटा अन्तरसमूहमा झण्डै दुई हजार महिला र एक हजार पुरुष गरी तीन हजार शेयर सदस्य रहेको सहकारीले कर्जाको अधिकांश हिस्सा कृषिजन्य उत्पादनमा लगाएको छ । स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको स्थानीय र छिमेकी बजारमा निकासी गर्दै आएको सहकारीमार्फत खासगरी महिलाहरु आर्थिक गतिविधिमा संलग्न रहेका छन् ।

सहकारीले शेयर सदस्यको आयआर्जनमा टेवा पुर्‍याउन कृषि क्षेत्रमा लगानी केन्द्रित गर्दै आएको दाबी गरेको छ । कृषि क्षेत्रअर्न्तगत पशुपालनतर्फ बाख्रा, भैसी, कुखुरा र बंगुरपालनलाई उच्च प्राथमिकता दिएको सहकारीले नगदे बालीतर्फ सुन्तला, कफी र मौसमी तथा बेमौसमी तरकारी खेतीमा उल्लेख्य लगानी वृद्धि गर्दै आएको जनाएको छ ।

More News last news
Loading...