गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराको आयोजनामा, गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको सह–आयोजनामा तथाखुमा अर्याल फाउण्डेसन स्याङ्जा, रोटरी क्लब अफ नक्साल शक्ति र गण्डकी मेडिकल कलेजको विशेष सहयोगमा प्रशिक्षणसहित बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
मंगलबार सम्पन्न कार्यक्रममा गण्डकी मेडिकल कलेजका वरिष्ठ न्यूरो सर्जन प्रा. डा. यम बहादुर रोका प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका ट्राफिक प्रहरी कर्मचारी तथा प्रहरी जवान आधारभूत तालिमका प्रशिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिविरमा सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षणसँगै दन्तरोग, आँखा रोग, नशा रोग, स्त्रीरोग(गाइनोकोलोजी) तथा मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा र परामर्श निःशुल्क प्रदान गरिएको थियो।
स्वास्थ्य सेवासँगै प्रि हस्पिटल म्यानेजमेन्ट एण्ड रोड ट्राफिक एक्सिडेन्ट, डिजिटल उपकरणको अत्याधिक प्रयोगबाट हुने स्वास्थ्य समस्या, स्वस्थ जीवनशैली तथा सन्तुलित आहार, तनाव व्यवस्थापन र उत्प्रेरणा सम्बन्धी विषयमा प्रशिक्षण पनि सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रहरी कर्मचारीमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने तथा कार्यसम्पादन क्षमतामा सकारात्मक योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
